‘मन त परदेशी’मा विदेशिएकाको कथा

काठमाडौं । पैसा कमाउन दैनिक हजारौं नेपाली विदेशिन्छन् । अनेक दुःख झेल्दै परिश्रम गर्छन् अनि नेपाल फर्किन्छन् । विदेशी भूमि उनीहरुका लागि कहिल्यै सुखद हुँदैन । यस्तै कथा बोकेको फिल्म ‘मन त परदेशी’ आगामी पुस १४ गतेबाट नेपाली हलमा रिलिज हुँदैछ ।

यो फिल्मका निर्माता दुर्गाबहादुर खड्का आफै लामो समयसम्म कतारमा बसेका नेपाली हुन् । ‘त्यहाँ दैनिक रुपमा नेपालीले व्यहोर्ने अनेक समस्यालाई मैले नजिकबाट नियालेको छु । त्यो समस्यालाई पुस्तकमा भन्दा फिल्ममा देखाउनु उपयुक्त लाग्यो र फिल्म बनाए,’ बुधबार पत्रकारमाझ खड्काले भने,‘जतिसुकै पिडा भए पनि मानिसहरुले पुस्तकमा भन्दा फिल्मबाट बढी जानकारी लिन्छन् भनेरै फिल्म बनाएको हुँ । यो फिल्म विदेशिएका नेपालीको कथा हो ।’ उनका अनुसार यो फिल्म कतारमा देखाइसकिएको छ ।

निर्देशक देव नेपालले निर्देशन गरेको फिल्मले रोजगारीको लागि खाडी मुलुक पुग्दा नेपाली युवाहरुले झेल्ने र झेल्दै आएका पीडाहरुलाई उठान गरेको छ । नायक दीपेशराज पाण्डेले फिल्ममा हरेक नेपालीको कथा रहेको बताए । ‘आफ्नो गाउँ छोडेर मानिसहरु किन विदेसिन्छन् भन्ने विषयलाई फिल्ममा उठान गरिएको छ ।’ उनले भने । नायिका समिता गिरीले आफूले गाउँले प्रेमिकाको भूमिकामा अभिनय गरेको खुलाइन् ।

फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नीलगायतका कलाकार को अभिनय छ ।  दुर्गाबहादुर खड्का र भुवन शर्मा कँडेलले निर्माण गरेको फिल्ममा पुश्कर सुनुवारको संगीत तथा मरुभूमि नारायण र राजेन्द्रकुमार थापाको छायांकन छ ।