अभिनेता वरुणका एक अनौठा फ्यान

मुम्बई(एजेन्सी) । गत आइतबार बलिउडमा अभिनेता वरुण धवन र उनकी प्रेमिका नताशा दलालबीचको विवाहले माहोल तताइरहँदा उनीहरुको विवाहस्थलमा भेटिएका एक युवाले सबैको ध्यानाकर्षण गराए । २१ वर्षका स्केच आर्टिस्ट शुभम मयेकर आफूले बनाएका वरुणको स्केच लिएर विवाह स्थलमा भेटिदै सबै अचम्मित भएका थिए ।

मुम्बईको प्रभादेवीमा बस्ने उनी वरुणको विवाहस्थल अलीबागमा एकदिन अघि नै पुगेका थिए । १५ वर्षको उमेरदेखि वरुणको अलग अलग पोजवाला स्केच बनाइरहेका शुभम चारवटा स्केच वरुणलाई भेटेर उपहारका रुपमा दिन चाहन्थे । यसमा फिल्म ‘कलंक’ वाला लुक्स विशेष महत्वको थियो । किनकी उनले यो स्केच बनाउन ६३ घण्टाको समय लगाएका थिए । उनी उपहारका रुपमा आफूले बाल्यकालमा बनाएको स्केच पनि दिन चाहन्थे ।

वरुणसँग भेट्ने शुभमको चाहना एकपटक मुम्बईमा पुरा भइसकेको छ । सन् २०१८ को सेप्टेम्बर महिनामा सुटिङको समयमा शुभमको भेट वरुणसँग भएको थियो । वरुणसँग भेटेको करिब डेढ वर्ष भए पनि उनको अनुहारमा त्यो समयको चमक अझै प्रष्ट देखिन्छ । वरुणसँगको पहिलो भेटमा शुभमले आफूले बनाएको वरुणका २६ स्केट उनलाई उपहारका रुपमा दिएका थिए । यी सबै अनौठा उपहारसँगै वरुणले शुभमसँगको तस्ीिबर इन्स्टाग्राममा राखेका थिए ।

‘म वरुणको यति ठूलो फ्यान हुँ कि म उनको स्केच मात्र बनाउदिनँ, उनको हरेक फिल्म कैयौंपटक हेर्ने गरेको छु ।’ उनी भन्छन् । उनले हालसम्म वरुणको ९६ स्केच बनाएका छन् । उनको योजना वरुणको १ हजार स्केच बनाउनेछ । ‘वरुण निकै राम्रा अभिनेता हुन् । उनी जमिनसँग जोडिएका छन् र उनको स्वभाव विनम्र र सहयोगी किसिमको छ’, उनी भन्छन् । वरुणको विवाहस्थलमा उनी पुगे पनि उनले वरुणलाई भेटे या भेटेनन् भन्ने केही खुलेको छैन ।