आशीर्वादमा आमाछोराको कथा

काठमाडौं । रोजगारीका लागि विदेशिएका नेपाली युवा र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो ‘आशीर्वाद’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर, सुरज गैरे ‘विवश’ र अशोककुमार तिमल्सिनाको शब्द तथा सुवास भुषालको संगीत छ ।

भिडियोमा मिथिला शर्मा र अशोककुमार तिमल्सिना फिचर्ड छन् । भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ । छोरा आउने प्रतिक्षामा रहेकी आमाको मृत्यु भएको खबर सुनेपछि पीडाले विदेशमा रहेका छोराको पनि मृत्यु भएको भिडियोमा देखाइएको छ ।

अशोककै लेखन तथा निर्देशन रहेको भिडियोमा पारस तिमल्सिनाको लगानी छ । भिडियोमा राकेश महर्जन, रवी कँडेल र सनिश श्रेष्ठको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन र रंग संयोजन छ ।