काठमाडौं । बलिउड अभिनेत्री तथा लेखक मनिषा कोइरालाले महाशिवरात्रीको अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ श्रोता तथा दर्शकमाझ ल्याएकी छन् ।
महामृत्युञ्जयमा मनिषासँगै सुरेन्द्र श्रेष्ठ (सुर–सुधा) र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युंजयमा संस्कृत शब्द छन् । यो महामृत्युंजय सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन् । राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितार गीतमा सुन्न सकिन्छ ।
मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि यो मन्त्र तयार गरिएको गायिका मनिषाले जानकारी दिइन । ‘यसलाई पश्चिमी र पूर्वी संगीतमा एरेञ्ज गरेका हौ ।’ मनिषाले भनिन ।
टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन् । भिडियोमा उज्ज्वल जोशी र जावेद खानको छायांकन छ ।
दीप तुलाधरले रेकर्ड गरेको यस मन्त्रको भिडियो पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो ।