काठमाडौंं । गीतकार बुद्धवीर लामाको दसौं एकल साँझ अमेरिकामा आयोजना हुने भएको छ । आगामी शनिबार साँझ (नेपाली समय अनुसार १२ वैशाख विहान ६ बजे) पेन्सिलभेनिला राज्यको ह्यारिसबर्ग शहरमा उनको एकल साँझ हुनेछ ।
कार्यक्रमका लागि लामा अमेरिका पुगिसकेका छन् । कार्यक्रममा अमेरिका निवासी नेपाली भाषी कलाकारहरु अर्जुन गुरुङ, यमु राई, टिका लामिछाने, निर्मल गुरुङ, पुष्प गजमेर, वीरेन्द्र गुरुङलगायतले बुद्धवीरका गीत सुनाउनेछन् । कार्यक्रम सामाजिक सञ्जालमार्फत लाइभ गरिनेछ ।
यस अगाडि काठमाडौमा आठ पटक र झापामा एक पटक एकल साँझ आयोजना गरिसकेका लामाको अमेरिकामा एकल साँझ हुन लागेको यो पहिलो हो । कार्यक्रमबाट उठेको रकम खर्च कटाएर वृद्धाश्रम र बाल अनाथालयलाई प्रदान गर्दै आएका लामाले आफ्नो आमा फूलमाया तामाङ जीवित रहँदासम्म उनलाई अतिथि बनाएर एकल साँझ गर्दै आएका थिए ।
लामा पुर्व म्याराथन धावक पनि हुन् । अमेरिकाको एकल साँझबाट उठेको रकम आफुले जन्मथलो इलामको बौद्धधाममा पहिलो पटक म्याराथोन दौड आयोजना गर्ने लामाले बताए ।
करिव ४ दशकदेखी गीत लेखनमा क्रियासिल लामाका ‘धेरै चोटी आँखा जुध्यो’, ‘चलेछ बतास सुस्तरी’, ‘बादलुको घुम्टोले’, ‘खुट्टा तान्दै गर’, ‘आज हाम्रो भेट भाको दिन’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘भुपु मायालु’ लगायत सयौ गीतहरु लोकप्रिय छन् ।
कार्यक्रमका लागि अर्जुन गुरुङ र रत्न गुरुङको संयोजकत्वमा रन राई, ओपी गुरुङ, टीबी गुरुङ, डीबी गुरुङ, विश्व गुरुङ, भुपाल गुरुङ, पुष्प गुरुङ, दीपा गुरुङ, वीरेन राई, मुक्तिराज गुरुङ र निर्मला सापकोटा गुरुङ सदस्य रहेको आयोजक समिति समेत गठन भएको छ ।