शरणार्थी शिविरमा दीलिप र रमितको सहयोग

काठमाडौं । अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले मोरङको पथरी–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घरधुरीलाई खाद्यान्न सहयोग गरेका छन् ।

नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको समूहले सञ्चालन गरेको इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकामार्फत उनीहरुले सहयोग गरेका हुन् ।

फाउण्डेसनका नेपाल कार्यकारी निर्देशक दीलिपले प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न सहयोग गरिएको बताए । उनका अनुसार फाउन्डेसनले गत वर्ष पनि करीब १ करोड २४ लाख नगदसहित खाद्यान्न वितरण गरेको थियो ।

फाउन्डेसनले हरेक महिना शिविरमा रहेका ८० वर्ष नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता र अशक्त व्यक्तिलाई अशक्त भत्ता दिने तयारी गरेको छ ।