कालापत्थरमा हसाएर विश्व रेकर्ड

काठमाडौं । कमेडियनद्वय उमेशकुमार गौतम(यूकेजी) र लोकमणि त्रिताल(रमेश अंकलको छोरो)ले सर्वोच्च शिखर सगरमाथाको कालापत्थरमा हसाएर विश्व रेकर्ड कायम गरेका छन् । स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’मा आबद्ध दुवैलेकालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका हुन् ।

‘नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल(रमेश अंकलको छोरो)ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए ।

‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहा पुगेका थिए । नेपग्याजम मिडिया एण्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताए ।

कलाकार उमेशले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस–तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरिएको बताए । यसअघि यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधार शिविर ५ हजार २ सय ७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर गिनिजमा नाम लेखाएका थिए । कार्यक्रमका लागि कोरोना महामारीबीच आठ जनाको टोली कालापत्थर पुगेको थियो ।