रणजितको गीतमा स्वास्थ्यकमीलाई सम्मान

काठमाडौं । गायक तथा संगीतकार डा. रणजितकुमार झाले कोभिड–१९ बाट संक्रमित बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सम्मानमा ‘नसोध मलाई’ बोलको गीत सांगीतिक बजारमा लिएर आएका छन् ।

गीतमा गिरिराज निरौलाको शब्द तथा डा. झा र निरौलाकै संगीत छ । डा. झा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत छन् ।

गीतमा संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोदशा चित्रणसँगै स्वास्थ्यकर्मीहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर बिरामीको उपचारमा सक्रिय छन् भन्ने सन्देश दिइएको छ ।

डा.झाका अनुसार गीतकार निरौलाले गत वर्ष कोरोना संक्रमणको जोखिमकै बीच सम्पूर्ण स्वास्थ्यकर्मीहरुको बाध्यतालाई गीतमा उतारेका थिए । गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ । महेश खड्का र सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा.झा पनि देख्न सकिन्छ । भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ ।

मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा निर्देशक कश्यपकै रंग संयोजन तथा सम्पादन छ । भिडियो डा.झाकै आधिकारिक यूट्युब च्यानल रणजीतकुमार झामार्फत सार्वजनिक गरिएको हो ।