रातामकैलाई बासुदेव लुँइटेल पुरस्कार

काठमाडौं । यस वर्षको ‘बासुदेव लुँइटेल पुरस्कार’ कलाकार कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ । बासुदेव–विद्यादेव लुँइटेल गुठीले ‘बासुदेव लुँइटेल पुरस्कार २०७७’ कलाकार केसीलाई दिने घोषणा गरेको हो ।

गत शुक्रबार साउन १५ गते बसेको गुठीको बैठकले कलाकारितासँगै कुनै समय गायनमा समेत आफ्नो उपस्थिति जनाईसकेका केसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतीक चिन्ह र कदरपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यो पुरस्कार गुठीले बासुदेव लुँइटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ । हाँस्यव्यंग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशील प्रतिभाहरूमध्येबाट छनोट गरी सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ ।

कलाकारसँगै फिल्म निर्मातासमेत रहेका केसीले पछिल्लो समय निर्माण गरेको फिल्म ‘लक्का जवान’ हो । रिलिजको लागि तयार रहेको फिल्म कोरोना भाइरसको महामारीका कारण प्रदर्शन हुन सकेको छैन ।