सर्ट फिल्म फेस्टाका विजेतालाई अवार्ड

काठमाडौं । छायाँछवि क्रिएसनको आयोजनामा भएको ‘पाँचौ काठमाडौ सर्ट फिल्म फेस्टा–२०२१’को विजेतालाई आइतबार राजधानीमा अवार्ड प्रदान गरिएको छ । आयोजकले यसपटक कोरोना महामारीका कारण केही पछि आयेजना गर्न सकिएको र कोरोनाका कारण सानोस्तरमा आयोजना गर्नुपरेको जनाएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथि थिए । चलचित्र लेखक र निर्देशक एवं नेपाल चलचित्रकलाकार संघका उपाध्यक्ष मोहन निरौला, अभिनेता धिरेन शाक्य एवं अवार्ड जुरी संयोजक ऋषि लामिछानेको पनि उपस्थिति थियो ।

कार्यक्रममा नवराज बु्ढाथोकी निर्देशित ‘हाउस हजवेण्ड’ले ‘इन्करेजमेण्ट अवार्ड’, लक्ष्मण सुबेदी निर्देशित ‘मेहन्दीको रंग’लाई ‘बेष्ट कन्सेप्ट स्कृप्ट अवार्ड’, दीपेन्द्र लामा निर्देशित ‘सावधान’लाई ‘पब्लिक च्वाइस अवार्ड’, सरोज खनाल निर्देशित ‘बिहानीमै अस्ताएको सूर्य’लाई ‘जुरी अवार्ड’, कल्याण अधिकारीलाई ‘सर्ट फिल्म निर्देशक अवार्ड’, पुरन जोशी निर्देशित ‘मह्ःपुजा’लाई ‘उत्कृष्ट डकुमेण्ट्री’ एवं अभिनव श्रेष्ठ निर्देशित ‘स्वीट सिक्सटिन’लाई ‘उत्कृष्ट सर्ट फिल्म’ अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापित एवं फिल्मी पत्रिका फिल्मीखबरको नाममा स्थापना गरिएको ‘फिल्मीखबर–सविन स्मृति रंग पत्रिकारिता पुरस्कार’ पत्रकार सुमन बैरागीलाई प्रदान गरिएको थियो । १० हजार १० रुपैयाँ सहितको यो पुरस्कारमा विगत डेढ दशकदेखि रंग पत्रकारितामा संलग्न रही समग्र फिल्म, संगीत एवं यस क्षेत्रको विकास योगदान पु¥याएवापत बैरागीलाई प्रदान गरिएको थियो । बैरागी म्युजिक खबर डटकमसँग आवद्ध छन् ।

समारोहमा सर्ट फिल्म फेष्टाका जुरीहरु प्रवण भुषाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल एवं जुरी संयोजक ऋषि लामिछानेलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।