आकाशको जुनमा पुष्प र रक्षा

काठमाडौं । नेपाली फिल्म क्षेत्रलाई तीन दर्जन फिल्म दिएका निर्माता तथा निर्देशक दीपक श्रेष्ठ करिब सात वर्षको विश्रामपछि फेरि निर्देशन क्षेत्रमा फर्केर सक्रिय रूपमा अगाडि बढिरहेका छन् ।

यस क्रममा उनी ‘घिन्ताङ’ नामक फिल्म निर्माण र निर्देशन गरिरहेका छन् भने सँगसँगै म्युजिक भिडियोहरू पनि निर्देशन गरिरहेका छन् । यसै क्रममा उनको निर्देशनमा ‘आकाशको जून’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘भ्वाइस अफ नेपाल’ विजेता किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ ।

कुनै बेला ‘पर्खी बसें’ जस्तो सांगीतिक प्रेमकथाको फिल्म निर्देशन गरेर लोकप्रियता कमाएका दीपकले यो गीतको म्युजिक भिडियोमा पनि सांगीतिक प्रेम कथा पस्किएका छन् ।

भिडियोमा पुष्प खड्का र नवप्रस्तुति रक्षा बुढाथोकीका साथमा बालकलाकार काव्या गिरीले अभिनय गरेका छन् । सौरभ लामाको छायाकंन रहेको गीतको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन् । आकर्षक स्थलहरूमा खिचिएको म्युजिक भिडियो राजाराम बुढाथोकीले निर्माण गरेका हुन् ।