आमा बन्दै सोनम कपुर

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छन् । उनले पति आनन्द आहुजासँगको आफ्नो ‘बेबी बम्प’ तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको घोषणा गरेकी हुन् । सोनमको यो निर्णयले बलिउडमा खुशीको माहोल छाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘चार हात, तिम्रो सबैभन्दा राम्रो ख्याल राख्नका हामी गर्न सक्छौं । दुई मुटु, जो तिमी सँगसँगै धड्किनेछ हरेक बाटोमा । हाम्रो परिवार, तिमीलाई प्रेम वर्षाउनेछ र सहयोग गर्नेछ । हामी तिमीलाई स्वागत गर्न अब अरु समय पर्खन्नौं’, सोनमले इन्स्टाग्राममा तस्वीरसहित लेखेकी छन् ।

सामाजिक सञ्जालमा वाणी कपूर, करीना कपूर, अंशुला, खुशी, अबू जानी, जाह्नवी कपूरलगायतले सोनमलाई बधाई दिएका छन् ।
सोनमले विवाहको चार वर्षपछि पहिलो सन्तानलाई जन्म दिँदैछिन् । उनले सन् २०१८ मे ८ मा आनन्दसँग विवाह गरेकी थिइन् । विवाह पछि फिल्मबाट टाढिएकी सोनम अधिकांश समय पतिसँग लण्डनमा बस्दै आएकी छन् ।

परिवारका अनुसार आगामी अगष्ट र सेप्टेम्बरसम्ममा सोमन र आनन्दको परिवारमा नयाँ सदस्यको प्रवेश हुनेछ ।