के घर के डेरामा निर्देशक हेरफेर

काठमाडौं । दुई वर्षअघि घोषणा भएको नेपाली फिल्म ‘के घर के डेरा’मा निर्देशन फेरिएका छन् । यो फिल्मको पहिलो घोषणा कार्यक्रममा निर्देशक सुव्रतराज आचार्य निर्देशकका रुपमा घोषणा गरिएको दुई वर्ष बित्न नपाउँदा उनको स्थानमा अहिले दीपेन्द्र के खनालको प्रवेश भएको छ ।

कोरोना महामारीका कारण दुई वर्षअघि रोकिएको यो फिल्म अब वैशाख अन्तिम साताबाट फ्लोरमा जाँदैछ । ३५ दिनको सुटिङ तालिका रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको अभिनय रहनेछ । फिल्मले काठमाडौंमा घर हुने र नहुनेको कथालाई देखाउनेछ ।

ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । फिल्ममा दीर्घ गुरुङको छायांकन सिंगे लामाको कथा तथा महेश दवाडीको पटथकथा र संवाद छ ।