महावीरको जन्म जयन्ती मनाइदै

काठमाडौं । जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१ औ जन्म जयन्ती काठमाडौमा भव्यताका साथ मनाइने भएको छ । नेपाल जैन परिषद्को आयोजनामा यहि वैशाख १ गते विविध कार्यक्रम आयोजना हुने भएको हो । अहिंसा र सतमार्गको पथलाई पछ्याउदै जैन धर्मावलम्बी यस जन्मजयन्तीलाई पर्वको रुपमा मनाउदै आएका छन् ।

२६२१ बर्ष अघि जन्मिएका भगवान महावीरले साढे १२ बर्ष सम्मको निरन्तर साधना गरि जनमानसमा ज्ञानको ज्योती फैलाएका थिए । चैत्र शुक्ल त्रयोदशीको दिन मनाउदै आएको यस जन्मजयन्तीलाई हर्षोल्लासको साथ मनाउन हरेक बर्ष देश तथा बिदेशका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा यस जन्मजयन्ती मनाउने गरिन्छ । विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाइ ठूलो चाडको रुपमा र अहिंसा दिवसको रुपमा मनाउने गर्दछन् ।

यस पटकको भववान महावीर स्वामीको २६२१ औ जन्मजयन्तिमा राजधानिमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा बिदेश बाट जैन धर्मका बिद्धान तथा अनुयायीको उपस्थिति रहने कार्यक्रम संयोजक सुमित जैनले बताए । नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र कुमार जैन भटेराको अध्यक्षतामा बैसाख १ गते शोभायात्रा र अर्चना सभा आयोजना हुने भएको छ ।