दिया दाहाल नयाँ मिस उर्लाबारी

उर्लाबारी । ‘नेपाल आइस मिस उर्लाबारी २०२२’ को तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन् । सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भीषण राईले सोधेको प्रश्नमा ‘आगामी स्थानीय निर्वाचनमा महिला सशक्तिकरण, रोजगारी र शिक्षा प्रदान गर्न पहल गर्न सुझाव दिनुपर्छ’ भन्ने सटिक उत्तर दिदै उनले टप ५ बाट ‘मिस उर्लाबारी’को ताज पहिरिएकी हुन् ।

उनले उपाधिसँगै नगद पचास हजार तथा ट्रफी प्राप्त गरिन । त्यस्तै उर्लाबारीकी ज्वाला लिम्बू ‘फस्ट रनर अप’ र उर्लाबारीकै अंकित कटवाल ‘सेकेन्ड रनर अप’ भइन् । उनीहरुले क्रमशः नगद तीस हजार र बीस हजार रुपैयाँ प्राप्त गरे । ज्वाला लिम्बुले ‘पब्लिक च्वाइस अवार्ड’को टाइटल समेत हात पारिन ।

त्यस्तै कुमकुम चौधरीले ‘मिस पर्सनालिटी’ र ‘एथलेट’को टाइटल जितिन भने अन्किता कटुवाल ‘मिस ट्यालेन्ट’, नलिना कट्टेल ‘मिस डिसिप्लिन’, निशा धिमाल ‘बेस्ट क्याटवाक’, सोफिया लिम्बू ‘मिस फ्रेन्डसीप’ र अबिशा लिम्बु ‘मिस फोटोजेनिक’ बने । प्रतियोगितामा १७ जना युवतीहरुले प्रतिस्पर्धा गरका थिए । स्थानीय युवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने अभिप्रायले आयोजना गरिएको प्रतियोगिता आउँदो वर्षबाट नियमित आयोजना गर्ने आयोजक सेन्ट्रल फेसन हबका अध्यक्ष जीवन चिमरियाले बताए ।

सबिना पोदारको कोरियोग्राफी रहेको प्रतियोगिताको मुख्य निर्णायकमा सञ्चारकर्मी तथा फिल्म निर्देशक भीषण राई र अन्य निर्णायकहरुमा सञ्चारकर्मी तथा मोटीभेशनल स्पिकर सुरेश राई, ‘मिस टुरिजम नेपाल २०२१’ आयुशा बस्नेत, ‘मिस लिम्बु २०१७’ कि फस्ट रनर अप सन्ध्या तुम्बाहाम्फे, प्राचार्य ज्ञानेन्द्र सुनार र गायक निमा तामाङ रहेका थिए ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताका विजेता तथा उप—विजेताले धरानमा आयोजना हुने ‘मिस पुर्वान्चल’मा सिधै प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने भएको छ । सेन्ट्रल फेसन हब उर्लाबारीको आयोजनामा भएको प्रतियोगिता उर्लाबारी नगरपालिकाको बिशेष सहयोग र सिजी ब्रुअरीको मुख्य प्रायोजन र प्रिन्सेस वाइन लगायत स्थानीय व्यवसायीहरुको प्रायोजनमा सम्पन्न भएको थियो ।

यसअघि सन् २०१३ मा नेमिता आङबुहाङ र २०१८ मा रुशाली केसीले ‘मिस उर्लाबारी’को ताज जितिसकेका छन् भने नेमिताले ‘मिस पुर्वान्चल’को ताज पनि जितेकी थिइन् ।