तारक मेहता छोड्दै शैलेष

मुम्बई(एजेन्सी) । भारतीय लोकप्रिय टेलिफिल्म ‘तारक मेहता का उल्टा चश्मा’का फ्यानका लागि एउटा दुःखको खबर छ । ‘दयाबेन’ र ‘अञ्जली भाभी’ पछाडि ‘तारक मेहता’को भूमिकामा अभिनय गर्ने कलाकार शैलेष लोढाले टेलिफिल्म छोड्ने भएका छन् । यो टेलिफिल्ममा उनी १४ वर्षदेखि आबद्ध थिए ।

शैलेषले टेलिफिल्मको सुटिङ गर्न छोडेका छन् । करिब एक महिनादेखि उनी यो टेलिफिल्ममा देखिएका छैनन् । शैलेषले यही टेलिफिल्मका कारण अन्य कैयौं टेलिफिल्मको प्रस्तावलाई अस्वीकार गरिसकेका छन् ।

‘उनी अब आफ्नो करियरलाई ध्यानमा राख्दै केही राम्रो अवसरलाई गुमाउन चाहदैनन् । त्यहीकारण उनले टेलिफिल्म छोड्ने मनस्थिति बनाएका हुन् । केही महिना यता सुटिङमा नआएका शैलेषले अगाडिको योजना पनि केही बनाएका छैनन्’, शैलेष निकट स्रोतले भनेको छ ।

समाचारअनुसार शैलेष स्पष्ट रुपले आफ्नो सम्झौतालाई लिएर खुशी छैनन् । निर्माताले उनको समयलाई सही रुपमा सदुपयोग नगरेको गुनासो शैलेषको छ । यद्यपि हालसम्म शैलेष र उनको टिमबाट आधिकारिक रुपमा कुनै कुरा बाहिर आएको छैन् ।