मुम्बई(एजेन्सी) । बलिउडका प्रख्यात निर्देशक राम गोपाल बर्माविरुद्ध प्रहरीमा उजुरी परेको छ । एक प्रोडक्सन हाउसका मालिकबाट ५६ लाख रुपैंयाँ ऋण लिएका बर्माले उक्त पैसा नतिरेपछि हाउसका मालिक प्रहरीको शरणमा पुगेका हुन् ।
प्रहरीका अनुसार उजुरीपछि बर्माविरुद्ध मियापुर पुलिस स्टेसनमा सम्बन्धि आईपीसीको धाराअनुसार उजुरी दर्ता गरिएको छ । उजुरीकर्ताले बर्माले सन् २०२० मा एक तेलुगू फिल्म ‘दिशा’को निर्माणका लागि आफूबाट ऋण लिएको निवेदनमा उल्लेख गरेका छन् । उनका अनुसार सन् २०१९ मा एक साथीका माध्यमबाट उनले राम गोपाल बर्मालाई भेटेका थिए ।
उजुरीकर्ताको निवेदनमा सन् २०२० जनवरीमा बर्माले फिल्म निर्माणका लागि उनीबाट ८ लाख रुपैंयाँ लिएको उल्लेख छ । त्यसपछि पुनः २० लाख रुपैंयाँ ऋण दिन अनुरोध गरेपछि सन् २०२० को जनवरी २२ मा चेकबाट पैसा दिएका थिए । त्यो समयमा बर्माले ६ महिनाभित्र ऋण चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए । यसपछि पनि सन् २०२० फेब्रुअरीमा बर्माले फिल्म निर्माणमा अझ पैसा आवश्यकता परेको भन्दै थप २८ लाख रुपैंयाँ ऋण मागेका थिए ।
उजुरीकर्ताले आफूले निर्देशकमाथि विश्वास गर्दै थप २८ लाख रुपैंयाँ उनको खातामा पठाएको जनाएका छन् । त्यो समयमा बर्माले फिल्म ‘दिशा’ रिलिज पछि उनको ५६ लाख रुपैंयाँ फिर्ता दिने प्रतिबद्धता जनाएका थिए ।
तर, उजुरीकर्ताले सन् २०२१ को जनवरीमा बर्मा फिल्म ‘दिशा’को निर्माता नभएको थाहा पाएपछि बर्माले आफूमाथि झुठो बोलेको थाहा पाएका थिए । राम गोपालले बलिउडमा ‘शिवा’, ‘रंगीला’, ‘कम्पनी’, र ‘सरकार’ जस्ता फिल्म दिइसकेका छन् ।