अनलाइनविरुद्ध प्रेस काउन्सिलमा करिश्माको उजुरी

काठमाडौं । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पार्टी सन्दर्भमा चुनावी गतिविधिलाई जोडेर आफुविरुद्ध असान्दर्भिक र आधारहीन समाचार लेखेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले प्रेस काउन्सिल, नेपालमा उजुरी दिएकी छन् ।

करिश्माले सम्बन्धित अनलाइन मिडियालाई असान्दर्भिक र आधारहीन समाचार हटाउन आग्रह गर्दै अन्यथा कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी दिइरहँदा उनले काउन्सिलमा उजुरी गरेकी हुन् ।

‘असान्दर्भिक र आधारहीन कुराले मेरो चरित्रहत्या गर्ने काम गरेको र नियतवस उत्पीडन गराउने उद्देश्यले यस्तो गरिरहेकाले काउन्सिलमा उजुरी दिएकी हुँ’, करिश्मा भनिन् ।

स्थानीय निकाय निर्वाचनमा कम्युनिष्ट पार्टी एमाले पहिलोबाट खस्किएर दोस्रो स्थानमा झरेपछि केहि अनलाइन मिडियाले ’करिश्मा जुन पार्टी प्रवेश गर्छिन, त्यो पार्टी पत्तासाफ’ भन्ने खालका शीर्षकमा समाचार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजेको करिश्माको आरोप छ । आधारहीन शिर्षकको स्क्रिनसटसहित करिश्माले चित्त दुखाउदै फेसबुकमा लामो स्टाटससमेत लेखेकी छन् ।

यस्तो छ, करिश्माको स्टाटस
स्थानीय निर्वाचनमा एमालेको सन्दर्भमा चुनावी गतिबिधिलाई जोडेर मलाई व्यक्तिगत रुपमा मेरो चरित्र हनन हुने गरि असान्दर्भिक र आधारहीन कुरा लेखेपछि मिति जेठ ११ गते मेरो फेसबुक अकाउन्टमा लेखेको स्टाटस तल उल्लेख छ । जीवनमा कसैको नराम्रो चिताएको छैन । कसैको नराम्रो गरेको छैन । सके बरु आफुसंग भएको बाँडेको छु । यत्रो वर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई पस्किए । कुनै

चलचित्र चले कुनै चलेनन् ! तर कहिले यस्तो तल्लो स्तरको टिप्पणी कहिले भोग्नु परेन । राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । मलाई जिवनभर पुग्ने सबै छ मसँग । सबैको आवाज बन्न सकु उहाँहरुको लागि केही गर्न सकु भनेर नै हो । मानसिकतालाई पिडा दिने शब्द प्रयोग गर्ने कसैलाइ अधिकार छैन । नत्रभने कनुनी उपाय खोज्नुपर्ने हुन्छ । हो एक दुई पटकसम्म सहनु ठिक छ ! तर बारम्बार गर्दा अति हुन्छ ।

के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईहरु मलाई ? बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जेपायो त्यै भनाइ हेर्नूपर्ने ? राम्रो सोच्नुस, राम्रो बोल्नुस, राम्रो हुन्छ । र यी मिडियाका साथीहरूलाई सुझाव ! अलि तथ्य समाचार लेख्नुस , यस्तो पनि समाचार हुन्छ ? आधार बिहिन आरोप लगाउनेहरु अध्यारोमा हिडिरहेका मानिस जस्तै हुन् ।