नाँचघरले मनायो ५० औं वार्षिकोत्सव

काठमाडौं । सांस्कृतिक संस्थानले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आइतबार विशेष कार्यक्रम आयोजना गरी स्थापनाको ५०औं वार्षिकोत्सव मनाएको छ । असार ५ देखि ७ गतेसम्म चल्ने स्वर्ण महोत्सव उद्घाटनमा राष्ट्रपति भण्डारीले लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा क्रियाशील सांस्कृतिक संस्थानलाई ५०औं वार्षिकोत्सवको अवसरमा बधाई दिइन् ।

‘सांस्कृतिक क्षेत्रमा क्रियाशील संस्थाले ५० वर्षको इतिहास बनाउनु गौरवको विषय हो’, राष्ट्रपति भण्डारीले भनिन्, ‘५० वर्षको इतिहास र अनुभव बोकेको सांस्कृतिक संस्थानले हाम्रा अमूल्य संस्कृति र सभ्यताको मूल्य एवं मान्यतालाई पुनस्र्थापित गर्न योगदान दिनेछ भन्ने विश्वास लिएको छु ।’

संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले ५० वर्षको इतिहास र अनुभवबाट सिकेर लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि लक्ष्य र उद्देश्य निर्धारित नयाँ योजना तथा कार्यक्रमका साथ संस्थान अघि बढ्ने बताए ।

‘देश भनेको चार किल्लाभित्रको ढुंगा माटोमात्र होइन । देश चिनाउन भाषा, भेषभूषा, रहनसहन अनि लोकसंस्कृतिको उच्चतम विकास आवश्यक छ’, महाप्रबन्धक राईले भने, ‘मुलुकको लोकसांस्कृतिक अवस्थाले त्यो देशको समृद्धि र सभ्यता झल्काउँछ । लोकसंस्कृति सुरक्षित र संरक्षित छैन भने त्यो राष्ट्र र राष्ट्रियता भरिलो एवं रसिलो हुन सक्दैन ।’

कार्यक्रममा संस्थानले नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई ‘दीर्घ साधना सम्मान २०७९’, रंगकर्मी ओममणि शर्मालाई ‘राष्ट्रिय नाट्य पुरस्कार २०७९’, संगीतकर्मी प्रेमदेव गिरीलाई ‘राष्ट्रिय संगीत पुरस्कार २०७९’ र नृत्यकार सुरेश मिश्रलाई ‘राष्ट्रिय नृत्य पुरस्कार २०७९’प्रदान गरिएको थियो । यी पुरस्कारको राशी जनही ५१ हजार रहेको छ । कार्यक्रममा राष्ट्रपतिबाटै संस्थानमा कार्यरत वीरेन्द्र हमाल र सुस्मिता तामाङलाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ पनि प्रदान गरिएको थियो ।

प्राज्ञ अशोक राईको संगीत संयोजन, वीरेन्द्र हमालको नाट्य संयोजन र लोकराज राईको नृत्य संयोजन रहेको स्वर्ण महोत्सवमा कलाकारहरुले नेपाली वृन्दावन, विभिन्न समुदायमा निहित लोकनृत्यदेखि मुनामदन एवं कृष्ण लीलासम्म प्रदर्शन गरेका थिए । महाप्रबन्धक राईका अनुसार संस्थानले ‘५०औं वर्ष विशेष कार्यक्रम’ बनाई एक वर्षभरि विभिन्न कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउँदैछ ।