मिलनमा त्रिकोणात्मक प्रेम

काठमाडौं । आगामी कात्र्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘मिलन’को डबिङ सकिएको छ । ६ महिना अघि छायांकन सकिएको यो फिल्मको डबिङको सम्पूर्ण काम सकिएको निर्माण टिमले जनाएको छ ।

फिल्ममा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रेम कथामा आधारीत फिल्म ‘मीलन’मा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम कहानी देख्न पाइने फिल्मका निर्देशक टेक पौरखी राईले जानकारी दिए । यसअघि निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ फिल्म निर्देशन गरिसकेका छन् । फिल्ममा लेखन पनि निर्देशक राईकै रहेको छ ।

तीनवटा गीत समावेश फिल्ममा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो फिल्मको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको फिल्ममा तारा किम्बे थापाको सम्पादन रहेको छ । फिल्मको पोस्टप्रोडक्सनको काम क्लासिक सिनेमाले गरेको छ ।