टिजरमा आयो परदेशी २

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’ असोज १४ मा रिलिज हुने भएको छ । फिल्म युनिटले शुक्रबार टिजर सार्वजनिक गरेसँगै रिलिज मितिबारे पनि जानकारी दिएको हो ।

निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत तय गरेको हो । साढे २ मिनेटको टिजरमा फिल्मका मुख्य कलाकारहरु प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ । ‘परदेशी–२’ गायक प्रकाशको ‘डेब्यू’ फिल्म हो ।

टिजरमा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाईएको छ । टिजरमा प्रेम, वियोग, संवेदना, द्वन्द्व समेटिएको छ । यसअघि ‘परदेशी’ले वैदेशिक रोजगारीको कथालाई उठान गरेको थियो ।

नारायण इन्टरनेशनलको प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर फिल्म निर्माण गरेका हुन् । नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय रहेको फिल्ममा रमेश बिजीको कथा छ ।

बि.बि. अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी, सुदीप कुँवरको सह–निर्देशन, अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायाङ्कन, दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह–सम्पादन छ ।फिल्मको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।