तिम्रो मायालेमा यशराज र सरिता

काठमाडौ । कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आधुनिक गीत ‘तिम्रो मायाले न हो’को भिडियो ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । गायक प्रताप दास र गायिका सरिता भारतीको स्वरमा रहेको यो गीतको छायांकन मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा गरिएको छ । छायांकार दिव्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षकसँग भिडियोमा उतारेका छन् ।

देवल भण्डारीले लेखेको यो गीतमा एलिश कार्कीको संगीत छ । फिल्मका लागि भनिएको यो गीतलाई बिलक्षण क्रियसनले बजारमा ल्याएको हो । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ (बाबु)ले गरेका हुन् । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गरेका छन् । काठमाडौंबाट चार दिनको यात्रा पछि सो स्थान पुगेर भिडियोको छायांकन गरिएको हो ।
कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवर्धन गर्न यो भिडियोको छायाँकन मुगु, अक्षाम र जुम्लामा गरिएको भिडियोका निर्देशक डब्बु क्षत्रीले बताए ।

यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन रहेको छ । दिलमाया मगर (एमकेएम फेसन हाउस) र चिटिक्क द फेसन स्टोरको फेसन रहेको यो भिडियो फिल्मी शैलीको बनेको छ । जसमा वीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ ।