आयुष्नोभालाई डाक्टर खातेबाट क्रिटिक्स अवार्ड

काठमाडौं । ‘मिस युनिभर्स नेपाल–२०२२’ को फाइनल प्रतिष्पर्धामा रहेकी डा. आयुष्नोभा ढुंगानाले फिल्म ‘डाक्टर खाते’बाट ‘स्कृप्ट सब टाईटल’तर्फ ‘क्रिटिक्स अवार्ड’ जितेकी छिन् । काठमाडौंमा सम्पन्न दोश्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२२ मा आयुष्नोभाले सबैभन्दा कम उमेरमा स्कृप्ट राईटिङ (सब टाईटल) लेखेर क्रिटिक्स अवार्ड हासिल गरेकी हुन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयुष्नोभाको अवार्ड उनकी आमा तथा अभिनेत्री रोशनी केसीले ग्रहण गरिन् । आफु मिस युनिभर्स नेपाल २०२२ को क्लोज क्याम्पमा भएका कारण अवार्ड ग्रहण गर्न नसकेको जानकारी गराउँदै आयुष्नोभाले सो अवार्डले आफुलाई अघि बढ्ना अक्ष प्रेरणा जगाएको बताईन् ।

हाल प्रतिस्पर्धा गरिरहेका २० जना प्रतियोगीमध्ये आयुष्नोभा मात्र डाक्टर हुन् । बंगलादेशबाट छाला रोग सम्बन्धी चिकित्सा अध्ययन गरेर नेपाल आएकी आयुष्नोभा सबैका लागि स्वास्थ्य अभियानका साथ मिस युनिभर्स नेपाल २०२२ मा छिन् ।

मिस युनिभर्स नेपाल २०२२ को चयन भदौ ९ गते साँझ हुने भएको छ । यो प्रतियोगिताको कोरियोग्राफी अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले गरिरहेका छन् । मिस युनिभर्स नेपालको बिजेताले नेपालबाट ७१ औं मिस युनिभर्स २०२२ मा भाग लिने छिन् । उनले मिस युनिभर्स नेपालको टाईटलसँगै क्राउन, १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले बताएकी छिन् ।