डीआरको ईशामा ४५ भिडियो

काठमाडौं । बुधबार काठमाडौंको कमलापोखरीमा रहेको अति व्यस्त मल सिटी सेन्टरमा फरक दृश्य देखियो । सपिङका लागि आएका मान्छेहरूलाई पनि अनौठो भइरहेको थियो । प्रशंग थियो मलमा सपिङ गर्न आएका सयौं मान्छेहरूको भीडमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा. डीआर उपाध्यायको नयाँ एल्वम ‘ईशा’ सार्वजनिक कार्यक्रम ।

मलमा ग्राहकको भिडभाडबीच गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटाका प्रमुख आतिथ्यतामा डा. उपाध्ययाको ४५ ओटा गीतको भिडियो कलेक्सन रहेको एल्वम ‘ईशा’ लोकार्पण गरिएको छ । एल्वमलाई प्रमुख अतिथि देवकोटासहित सर्जक डा. उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी, भोला अधिकारी, शुभाष प्रधान, निरज दाहाल, सिडी डिजाइनर रमेश थापा, यमबहादुर लगायतले लोकार्पण गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि देवकोटाले सर्जक उपाध्यायले आफ्ना सिर्जना श्रोता÷दर्शकमाझ ल्याउदा सधैँ अलग अलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क्रममा सिटी सेन्टरमा मलमा पनि पृथक तरिकाले सार्वजनिक गरेको बताउँदै उनलाई बधाई तथा शुभकामना दिए । उनले भने ‘आफ्ना सृजनालाई सधै पृथक तरिकाले सार्वजनिक गर्नुहुने डा. उपाध्यायले ‘ईशा’ एल्वम पनि फरक ढंगले सार्वजनिक गर्नुभएको छ । उहाँले नेपाली गीत संगीतको फाँटमा अझ धेरै सिर्जनाहरू पस्किन सक्नुहोस् शुभकामना दिन चाहन्छु ।’

यस्तै कार्यक्रममा पत्रकार तुलसी गिरीले डा. उपाध्यायले फरक शैलीका कार्यले गर्दा नै यसअघि गीत संगीत तथा विविध क्षेत्रमा ११० कीर्तिमान राख्न सफल भएको बताउँदै उनलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा कीर्तिमानी गीतकार डा. उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने र त्यसलाई सार्वजनिक पनि फरक तरिकाले गर्दै आएकोमा यो एल्वम पनि मलमा ठूलो संख्यामा ग्राहकबीचमा विमोचन गरिएको बताए ।

गीत संगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गरेका डा. उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक फरक शैलीका गीत श्रोता÷दर्शकमाझ आएका छन् । उनको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।