सिनेमाघर एपमा जय भोले र रातो टीका निधारमा

काठमाडौं । नेपाली ओटीटी प्लेटफर्म सिनेमाघर एपमा निर्माता तथा निर्देशक अशोक शर्माको दुई फिल्म ‘जय भोले’ र ‘रातो टीका निधारमा’ रिलिज भएका छन् । वडा दशैंको अवसर पारेर आइतबार फूलपातीबाट यी दुबै फिल्म ‘सिनेमाघर एप’मा रिलिज भएका छन् । अब दर्शकहरुले यो दुई फिल्मलाई केही सीमित रकम तिरेर दशैंको रमझममा घरमै बसेर हेर्न पाउनेछन् । ‘जय भोले’ २०७५ सालको सफल फिल्म हो भने ‘रातो टीका निधारमा’ २०७६ सालमा प्रदर्शन भएको थियो । यी दुवै फिल्मका निर्माता तथा निर्देशक अशोक शर्मा हुन् ।

निर्देशक शर्माले आफ्ना यि दुई फिल्म यूट्युबमा कहिल्यै नआउने बताए । अन्य देशमा जस्तै नेपालमा पनि ओटीटी प्लेटफर्म फस्टाउनु पर्छ भन्ने उद्देश्यले आफूले ‘जय भोले’ र ‘रातो टीका निधारमा’लाई ‘सिनेमाघर एप’मा रिलिज गरेको उनको भनाई छ । यूट्युबमा फिल्म रिलिज गर्दा हलमा गएर फिल्म हेर्ने कल्चर पनि बिग्रने भएकाले आफूले ओटीटी रोजेको शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘यूट्युब सुरक्षित पनि छैन । पाइरेसी पनि प्रशस्त मात्रामा हुन्छ । अनि अर्को कुरा हाम्रो रेभेन्युको हो । यूट्युबमा फिल्म दिँदा ९९ वर्षका लागि सम्पूर्ण अधिकार दिनुपर्छ । ९९ वर्षसम्म आफ्नो सम्पत्तिको आफूसँग अधिकार नै हुँदैन । अहिले प्रविधिको यति विकास भइरहेको छ कि विभिन्न अवसरहरु आउँछ । यूट्युबलाई फिल्म दिँदा ती अवसरहरु सबै गुम्छन् । साथै, नेपाली फिल्मको व्यापार हुने टेलिभिजन, अन्य अनलाइन प्लाटफर्महरु तथा अन्तराष्ट्रिय रुपमा हुने प्रदर्शनमा समेत यसले शत प्रतिशत घाटा दिएको छ । मैले अब बनाउने कुनै पनि फिल्म युट्यूबमा रिलिज गर्दिन ।’

ठुलो लगानीमा बनाएको फिल्म सित्तैमा देखाउनु हुँदैन भन्ने आफ्नो मान्यता रहेको शर्माको तर्क छ । ‘म अब कहिल्यै फिल्म यूट्युबमा हाल्दै हाल्दिनँ । हामीले फिल्म हलमा चलाउनका लागि बनाउँछौं । थिएटरमा फिल्म हेर्नु र यूट्युबमा फिल्म हेर्नुमा आकाश–जमिनको फरक छ । यूट्युबमा सित्तैमा फिल्म आउँदा थिएटरको व्यापारमा पनि ठूलो असर पुगेको छ । पैसा तिरेर फिल्म हेर्ने संस्कार बसाउन पनि मैले यूट्युबमा नभइ ओटीटीमा फिल्म रिलिज गरेको हुँ,’ उनले भने ।

अन्य देशमा ओटीटीको राम्रो विकास भइसकेकाले अब नेपालमा पनि त्यो जरुरी रहेको उनको कथन छ । अशोक शर्मा अगाडि भन्छन्, ‘हलमा जस्तै ओटीटीमा पनि फिल्म हेर्न पैसा तिर्नुपर्छ । यसले निर्मातालाई पनि राहत मिल्छ भने फिल्म हेर्ने संस्कार पनि जीवित रहन्छ ।’ हलमा जस्तै ‘जय भोले’ र ‘रातो टीका निधारमा’लाई ‘सिनेमाघर एप’मा पनि दर्शकको साथ मिल्नेमा उनि विश्वस्त छन् ।

‘जय भोले’मा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, वुद्दि तामाङ, राजाराम पौडेलको अभिनय छ भने ‘रातो टीका निधारमा’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, नीता ढुंगाना, खुश्वु खड्का, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । यो फिल्मबाट अशोक शर्माका छोरा अंकितले अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।