युरोपेली युनियन महोत्सवमा नेपाली फिल्म

काठमाडौं । नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले ‘नेपाल युरोपेली युनियन फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ । ११औँ संस्करणको महोत्सवमा १३ वटा युरोपेली र ३ वटा नेपाली फिल्म प्रदर्शन हुनेछ । महोत्सव आगामी ११ कात्तिकदेखि १५ कात्तिकसम्म चलचित्र विकास बोर्डमा हुनेछ । यसपछि १९ कात्तिकदेखि २२ कात्तिकसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ । सुर्खेतमा ५ युरोपियनका ५ र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन् ।

यस वर्ष भौतिक र अनलाइन माध्यम गरी मिश्रित विधिबाट महोत्सव आयोजना गरिनेछ । आयोजकका अनुसार २८ अक्टोबरमा भौतिक कार्यक्रमसहित अनलाइन कार्यक्रमसमेत सुरु हुनेछ, जुन २८ नोभेम्बरसम्म उपलब्ध हुनेछ । अनलाइन फिल्म महोत्सवमा नेपाली वृत्तचित्र ‘गोर्खा गर्ल’सहित ८ वटा फिल्म हुनेछन् ।

नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यबाहक प्रमुख जोयले हिभोनेटले २ वर्षको अन्तरालपछि फिल्म हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट फिल्मका साथै ३ वटा नेपाली फिल्म प्रस्तुत गर्न पाउँदा उत्साहित भएको बताइन् ।  ‘सिनेमा सांस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ । सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवाललाई हामी कसरी हेर्छाैं भन्ने हाम्रो बुझाइलाई समृद्ध बनाउन फिल्म प्रभावकारी माध्यम हो’, उनले भनिन् ।

महोत्सवमा रीता हुतानेनको ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारको ‘लोला’ र आराश टी. रिहाहीको ‘अस्कर एण्ड लिली’ नेपाली सबटाइटलमा प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ प्रमुख आकर्षण रहेको छ । त्यस्तै, किरण श्रेष्ठको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरको ‘गोर्खा गल्र्स’सहित अन्य २ वटा फिल्म प्रदर्शन हुनेछन् । महोत्सवको शुभारम्भ रीताको वृत्तचित्र ‘गड्स अफ मोलेन्बिक’बाट गरिनेछ । यस वृत्तचित्रमा ब्रसेल्सको मोलेन्बिक इलाकामा रहेका २ जना ६ वर्षीय बालकको अन्तक्र्रिया र कल्पनाको सेरोफेरो देखाइएको छ ।

महोत्सवअन्तर्गत फिल्म र फिल्म निर्माणका विभिन्न पक्षसँग सम्बन्धित ३ वटा पूरक क्रियाकलाप गरिनेछ । महोत्सवमा ‘फिल्म निर्माणमा आर्काइभ अर्थात् पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ ?’, ‘फिल्महरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन् ?’ र ‘युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली फिल्म क्षेत्रमा काम गर्ने व्यक्तिहरूबीच सहयोग र सहकार्य’ विषयमा अन्तक्र्रिया हुनेछन् । सुर्खेतमा फिल्मकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका फिल्मका विद्यार्थी तथा फिल्मकर्मीका लागि मास्टर क्लास सञ्चालन गर्नेछन् ।