विक्रम वेधा फ्लप हुने पाँच कारण

मुम्बई । ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’ बक्सअफिसमा फ्लप साबित भइसकेको छ । यो फिल्म फ्लप हुनुमा मानिसहरुले अनेक कारण देखाएका छन् । कतिपयले फिल्मको मार्केटिङलाई दोष लगाएका छन् भने यसको गीत ‘अल्कोहोलिया’लाई पनि कारण मानिएको छ । यहाँ यो फिल्म फ्लप हुने पाँच कारण प्रस्तुत गरिएको छ ।

अल्कोहोलिया
यो फिल्म तमिल फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेक हो । तमिलमा ११ करोडको लागतमा बनेको फिल्मले बक्सअफिस ६० करोडको कमाई गरेको थियो । जबकी हिन्दीमा यो फिल्म १ सय ७५ करोडमा बने पनि व्यापार भने करिब ७५ करोड मात्र गर्यो । फिल्मको गीत ‘अल्कोहोलिया’मा ऋतिकले उत्कृष्ट नृत्य गरे पनि गीतको वर्ड भ्यालुलाई दर्शकले रुचाएनन् । मदिरासँग सम्बन्धित यो गीतमा ऋतिकको अलावा कुनै ठूलो अभिनेत्रीलाई आइटम नृत्य गराएको भए यसले फिल्मलाई फाइदा पुग्ने अधिकांशको बुझाई छ ।

राधिका आप्टे
फिल्ममा अभिनेत्री राधिका आप्टेले सैफको श्रीमतिको भूमिका निर्वाह गरेकी छन् । अधिकांश दर्शकले फिल्मले पारिवारिक दर्शकलाई ध्यान नदिइएको आरोप लगाएका छन् । उनीहरुले राधिकाको स्थानमा अन्य कोही नाम चलेको अभिनेत्रीलाई अभिनय गराएको भए दर्शकलाई थिएटरमा तान्न सक्ने उल्लेख गरेका छन् ।

फिल्मको संवाद
उत्तर भारतका दर्शकले फिल्मको संवादप्रति आपत्ति जनाएका थिए । फिल्मको संवाद तिनै मनोज मुन्तशिरले लेखेका हुन्, जसको फिल्म ‘आदिपुरुष’लाई लिएर बोलेको कारण चर्चामा छन् । फिल्ममा विक्रम र वेधा दुवै उत्तर भारतीयका छन् । तर कानपूरबाट आएर लखनऊमा आफ्नो वर्चस्व बनाउने वेधाको बोली यी दुई क्षेत्रको सट्टा बिहारको जस्तो छ ।

फिल्मको प्रायोजित मार्केटिङ
फिल्मको रिलिज अघि नै सामाजिक सञ्चालमा फिल्मको प्रायोजित समीक्षा गर्न र यसलाई ट्रेन्डिङमा ल्याउन एक डिजिटल मार्केटिङ एजेन्सीले मोटो रकम खर्च गरेको थियो । फिल्मको राम्रो समीक्षा गर्न पनि राम्रो रकम खर्च गरिएको चर्चा चलेको थियो ।

रिलायन्सको गलत योजना
कानपूर र लखनऊका दर्शकले यो फिल्मको प्रचारप्रसार फरक ढंगले गरेको भए फिल्मले पहिलो साता सानदार कमाई गर्ने दाबी गर्छन् । फिल्ममा अनावश्यक बजेट खर्च गरिएको दर्शकको बुझाई छ । फिल्म रिलिज अघि हिन्दी भाषी क्षेत्रमा प्रचारमा खर्च नगर्नु पनि फ्लप हुने कारण उल्लेख गरेका छन् ।