ज्याकलिनलाई गिरफ्तार नगर्न आदेश

मुम्बई । सुकेश चन्द्रशेखरसँग जोडिएको २ सय करोड मनी लन्ड्रिङ मुद्धामा अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार पटियाला हाउस कोर्टमा उपस्थित भइन् । बयान दिनका लागि उपस्थित उनलाई अदालतले आगामी सुनुवाईसम्म गिरफ्तार नगर्न आदेश दिएको छ । यो मुद्धाको आगामी सुनुवाई १० नोभेम्बरमा हुनेछ ।

अदालतले प्रवर्तन निर्देशनालय (इडी) लाई ज्याकलिनको जमानत याचिकामाथि जवाफ दिन भनेको थियो । इडीले भने जवाफ पेश गर्नका लागि समय मागेको छ । अदालतले ज्याकलिनको वकिललाई आफ्नो चार्जसिटको कपी सबै आरोपीलाई दिएको छ कि छैन भनेर सोधेको थियो । जवाफमा वकिलले आफूलाई इडीले अदालतमा दिने भने पनि हालसम्म नपाएको बताएका थिए ।

सुकेश हाल जेलमा छन् । सुकेशमाथि कैयौं व्यक्तिलाई ठगेको आरोप छ । गत १७ अगष्टमा इडीले चार्जशिट दर्ता गराएको थियो । जसमा ज्याकलिनलाई पनि २ सय करोडको रकम असुलीमा आरोपी पाइएको थियो । यसमा कैयौं साक्षी र प्रमाणलाई आधार बनाइएको थियो । यसपछि अदालतले उनलाई पत्र पठाएको थियो । आफूमाथि आरोप लागेपछि ज्याकलिनले वकिलमार्फत जमानतको याचिका दर्ता गरेकी थिइन् ।

यो मुद्धालाई लिएर इडीले कैयौंपटक ज्याकलिनमाथि सोधपुछ गरेको छ । सोधपुछमा आफूले सुकेशसँग विवाह गर्न चाहेको खुलासा गरेकी थिइन् । दिल्ली पुलिसको आर्थिक अपराध शाखाले पनि ज्याकलिनसँग १५ घण्टा सोधपुछ गरेको थियो ।