फिल्म सोसाइटी यूकेको महासचिवमा हिरा

काठमाडौँ । गीतकार तथा निर्देशक हिरा काजी थापा नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन भएका छन् । नेपाल फिल्म सोसाइटी युकेले सर्वसम्मत रुपमा निर्मातासमेत रहेका थापालाई शनिबार चयन गरेको हो ।

सोसाइटीले शनिबार एक विज्ञप्ति जारी गर्दै कार्यकारी पूर्व महासचिव मनसुधन थापा मगर आफ्नो व्यवसाय कार्यभार व्यस्तताको कारण शनिबारबाट नै महासचिव पदबाट अवकाश भएसँगै उक्त रिक्त पदमा निर्देशक थापालाई चयन गरिएको जनाएको छ । कार्यकारी पूर्व महासचिव मनसुधन सह सचिब पदमा यथावत् रहने विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त महासचिव थापा लामो समयदेखि बेलायतमा रहेरपनि नेपाली गीत संगीत र कला क्षेत्रमा आफ्नो सक्रियता देखाइरहेका ब्यक्ति हुन् । गीतकार तथा निर्देशक थापाका शब्दमा चर्चित गायिका अञ्जु पन्तको स्वरमा मैले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौँ, नबिन के भट्टराईको स्वरमा रहेको सायद तिमी नै हौ मेरो दिलको धड्कन, पहिलो नेपाल आइडल बिजेता गायक बुद्ध लामाको स्वरमा रहेको के छ खबर, लगायत सैयौँ गीतहरु बजारमा आइसकेका छन् ।

हाल बेलायतमा रहेका थापा नयाँ चलचित्र निर्देशनका लागि कात्तिकमा नेपाल आउँदैछन् । जसको छायांकन माघ अन्तिम साताबाट हुनेछ । जसको हाल स्क्रिप्टको काम भइरहेको निर्देशक थापाले जानकारी दिए ।