नेपाल र अष्ट्रेलियामा महापुरुष हाउसफूल

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ले आक्रामक व्यापारको सुरुवात गरेको छ । नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शनमा आएको फिल्मले दुवै देशमा उत्तिकै हाउसफूलका साथ प्रदर्शनमा आएको छ ।

नेपालका हलमा बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा विहानी शोमै फिल्म हाउसफुल भएको हो । फिल्मको शुक्रबार बिहानैदेखि अकुपेन्सी आक्रामक देखिएको छ । ‘मुख्य कुरा फिल्म हेरेर निस्किनु भएका दर्शक खुसी र सन्तुष्ट हुनुहुन्छ । वर्ड अफ माउथले फिल्मलाई झनै फाइदा गर्ने विश्वास छ’, कार्यकारी निर्माता बानियाँले भने ।

फिल्मको विहानी शो नै आक्रमक देखिएपछि कार्यकारी निर्माता बानियाँसँगै अभिनेता हरिवंश आचार्य, अभिनेत्री गौरी मल्ल, निर्देशक प्रदीप भट्टराई, नव प्रस्तुतिमा रहेका अरुण क्षत्री र अन्जना बराईली हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए । बलियो मार्केटिङ शैली, पब्लिसिटी र ट्रेलरबाटै फिल्मले प्राप्त गरेको संवेदनाको प्रभाव ओपनिङमा देखिरहेको छ । फिल्मको स्वदेशमा मात्र नभई अष्ट्रेलियामा पनि उत्तिकै प्रतीक्षा रहेको रङ्ग पत्रकार राजन घिमिरेले बताए ।

सिड्नीमा रहेका पत्रकार घिमिरेले फ्यामिली दर्शक फिल्मको शोमा देखिने बताए । ‘यहाँ पहिलो दिन नै अष्ट्रेलियाका विभिन्न सहरहरूममा २८ भन्दा बढी शो छ । धेरैपछि फ्यामिली फिल्म आएकोले स–परिवारनै टिकट लिनेको संख्या बढी छ’, पत्रकार घिमिरेले भने । आइतबारसम्मै तिहार र छठ पर्व बिदा पनि भएकाले पहिलो सप्ताहन्तमा ‘महापुरुष’को ओपनिङ उछाल हुने अनुमान छ ।

काठमाडौं, चितवन र इटहरीमा भएका तीन अलग प्रिमियरको प्रतिक्रियाको फाइदा समेत फिल्मलाई हुनेछ । मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ४१ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ३ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ५ शो, लबिम मलमा ४ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा २ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ४ शो, वुटवलमा ४ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ४ शो, विराटनगरमा ३ शो, विर्तामोडमा ३ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ४ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ३ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ५ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ५ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ५ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा ५ शो र कालिमाटीमा ४ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ४ शो र बुटवलमा रहेको आइएनआइमा ४ शो दिएको छ ।

लेखक समेत रहेका निर्देशक भट्टराईले अघिल्लो फिल्महरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने बताए । ‘हामीलाई गर्ने विश्वासले दायित्वसमेत बढाएको छ । हामीले हाम्रो साख गिर्ने काम गरेका छैनौँ । मनोरंजनसँगै दर्शकलाई राम्रो कथा पसकेका छौँ’, निर्देशक भट्टराईले भने । फिल्मको प्रिमियर मार्फत प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहिँ फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन्

एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।