बिजुली च्याप्टर १ को अडिसन आव्हान

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘बिजुली च्याप्टर १’ ले केही कलाकारको लागि अडिसन आव्हान गरेको छ । आगामी कात्तिक २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० बर्ष उमेरको पुरुष, ३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ बर्ष उमेरको महिला कलाकार र अन्य सपोर्टिंग क्यारेक्टर छानिने छ ।

विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मकी निर्माता लुना केसी हुन् । विकास को यो डेब्यू निर्देशन हो । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्धित भइसकेका छन् ।

फिल्मको क्रियटिभ प्रोड्युसर केदार भुसाल हुन् । फिल्ममा हरि घले लामाले छायांकन, शंकर धितालको एसोसिएट निर्देशन, आयुष बिसीको मुख्य सहायक निर्देशन हुनेछ ।

फिल्मको पोस्टर डिजाइन ट्राईडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । चार युग सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए ।

‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’ निर्देशकले गिरीले भने । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।