दशौं मानवअधिकार चलचित्र महोत्सवको तयारी

काठमाडौं । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण आयोजना हुने भएको छ ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ (१८–२१ डिसेम्बर ) सम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन, लाइभ सांगीतिक कार्यक्रमसहित राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्ने महोत्सव निर्देशक पाण्डव खत्रीले बताए ।

‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ देखाइने छ । महोत्सवको समापनमा दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिनेछ । विश्वभरीबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक फिल्म, वृत्तचित्र, एनिमेसनलगायतका नेपालसहित २५ देशका ६४ वटा फिल्म महोत्सवमा देखाइने छ ।

यस वर्ष महोत्सवमा नेपालबाट निर्देशक अभिनाषविक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मानवअधिकार अभियान्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा रहेका छन् ।

महोत्सवमा चार विधाका उत्कृष्ट फिल्मलाई नगदसहित अवार्ड प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ ।

महोत्सवमा ‘लुकेरा बसेका कथाहरुलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्ने विषयमा मास्टर क्लासको आयोजना गरिने भएको छ । मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिने छन् । त्यस्तै महोत्सवमा ‘जलवायु परिवर्तन रन्याय सम्बन्धी’ विषयमा मानवअधिकारकर्मी, जलवायु सम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल पनि राखिएको छ ।

महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानवअधिकार आयोग रहने छ । महोत्सवमा युरोपियन युनियन नेपाल, नेपालका लागि अष्ट्रेलियाली दूतावास, इन्टरनेशनल कमिसन अफ ज्युरिस्ट आइओएम लगायतविभिन्न संघसंस्थाको सहयोग रहनेछ ।