अमेरिका र अष्ट्रेलियामा हिजो आजका कुरा

काठमाडौं । निर्देशक साकार पन्त दुई साता अघि फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शन गर्नका लागि अष्ट्रेलिया उडे । बरिष्ट अभिनेता पिता सन्तोष पन्तको कथा र निर्माणमा बनेको ‘हिजो आजका कुरा’ गत असोज २८ गते नेपालभरका हलमा प्रदर्शन भएको थियो । दर्शकबाट सुखद प्रतिक्रिया पाएको फिल्मको बिदेशमा माग बढेकाले निर्देशक स्वयम् अष्ट्रेलिया पुगेका हुन् । आफ्नो डेब्यु निर्देशन तथा अभिनयको फिल्म भएकाले दर्शकको माग अनुसार आफू अष्ट्रेलिया पुगेको साकारले बताएका छन् ।

‘अष्ट्रेलियाका बिभिन्न शहरमा फिल्म शो भइरहेको छ,’ उनले जानकारी दिए,‘फिल्म निकै मन पराइरहनु भएको छ । त्यसैले पूर्वनिर्धारित भन्दा बढी शो थपीएका छन् । अझै केही साता शो निरन्तर रहन्छ ।’ उनले २२ डिसेम्बरमा क्वीनल्याण्डस्थित गार्डेन सिटी टुवाम्बामा सम्पन्न शोमा दर्शकको खचाखच उपस्थिति रहेको बताए । यसअघि डर्विन क्याथरिन र ब्रिसवेनमा सम्पन्न शोमा पनि दर्शकले फिल्म निकै मन पराएका थिए । फिल्म २९ डिसेम्बरमा क्यानबेरा, ५ जनवरीमा सिड्नी र ८ जनवरीमा गोल्ड कोयस्ट अनि २२ जनवरीमा एडिलेडमा प्रदर्शन हुदैछ ।

‘हिजो आजका कुरा’ को बिदेश प्रदर्शन यात्रा अमेरिकाबाट सुरु भएको थियो । गत १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन गरिएको फिल्म त्यसपछि १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा र २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन गरियो । अमेरिकामा पनि दर्शकको माग बढेकाले २३ डिसेम्बरबाट टेक्ससमा दुई सातासम्म लगातार फिल्म प्रदर्शन सुरु भएको जानकारी उनले दिएका छन् । अष्ट्रेलियामा फ्युजन मिडिया प्रोडक्शनले फिल्म प्रदर्शनमा साथ दिइरहेको छ ।

‘बिदेशमा ‘हिजो आजका कुरा’ प्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ,’ निर्देशक साकार भन्छन्,‘अमेरिका,अष्ट्रेलिया झै क्यानडा,युरोप,जापानलगायत बिश्वका थुप्रै देशबाट फिल्मको डिमाण्ड आएको छ । हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौ ।’

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा बरिष्ट अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन ।