झिलमिल झिलमिलमा रोमान्टिक पुष्प र साम्राज्ञी

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को शिर्ष गीत रिलिज गरिएको छ । ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा सिनेमा दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

निर्देशक रमेश एमके पौडेलकको शब्द रचना रहेको गीतमा योगेश काजी शाहको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा रमेश एमके पौडेलको निर्देशन छ । यो उनको डेब्यु निर्देशकिय फिल्म हो ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । फिल्मको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।