पर्यटक बोलाउन जय हो

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले पोखरा र मुस्ताङको भ्रमण गर्दै छायांकन लोकेशन फाइनल गरेका हुन् ।

फिल्मको मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन गरिनेछ । संसारलाई नेपालको सुन्दरता देखाउनका लागि फिल्मको छायांकन पोखरा र मुस्ताङमा गर्न लागेको प्रस्तुतकर्ता बस्नेतले बताए । ‘हाम्रो उद्देश्य फिल्म निर्माण मात्र होइन, देशलाई संसारमा चिनाउनु पनि हो । पोखरा र मुस्ताङ सुन्दरताका खानी हुन् र यी स्थानको प्रवद्र्धन गर्नु हाम्रो जिम्मेवारी हो । कथाले पनि सुन्दर लोकेशन नै खोजेकाले हामीले पोखरा र मुस्ताङ रोजेका हौं’, उनले भने ।

सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ । एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ । आगामी माघ अन्तिम सातादेखि फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । सिनेमामा राम्जी राउत क्रियटिभ निर्देशकमा रहनेछन् ।