हरिहर र नीताको ह्रस्व दीर्घमा गरिमा

काठमाडौं । नेपाल र भारतका चर्चित कलाकारहरूको जम्बो टोलीलाई अनुबन्ध गरिसकेको फिल्म ‘ह्रस्व दीर्घ’ छायांकन पुर्व नै चर्चामा छ । आगामी फेब्रुअरी १ तारिखबाट भारतस्थित विश्वकै ठुलो फिल्म स्टुडियो रामोजी फिल्म सिटीमा छायांकन सुरू हुने फिल्मले अनुबन्ध गरेका कलाकारहरू खलपात्रदेखि कमेडियन हुँदै प्रेमिल पात्रमा स्थापित छन् ।

हरिहर अधिकारी र नीता ढुङ्गाना मुख्य जोडी रहने भनि चर्चा गरिएको फिल्ममा हालै अभिनेत्री मोडल गरिमा शर्मा अनुबन्ध भएको खबर निर्माण टिमले सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ बर्ष २०२३ को पहिलो दिन निर्देशक चन्द्र पन्त तथा निर्मात्री नीताले एकसाथ सामाजिक सञ्जालबाट फिल्मकी अभिनेत्रीमा गरिमा अनुबन्ध भएको खबर सार्वजनिक गरेका हुन् ।

निर्देशक पन्तले फिल्ममा गरिमालाई प्रमुख र महत्वपूर्ण भुमिकामा रहनेगरि अनुबन्ध गराएको बताए । ‘हामी अझै कास्टिङ कै क्रममा छौं, स्कृप्ट फाइनल छ, अब छायांकनको तयारीमा जुट्दैछौं,फ्लोर मिति तय भइसकेको बारे पन्त बताउँछन् । फेब्रुअरी १ सम्म फिल्मका थप रहस्य बाहिर आउँदै जाने उनको दाबी छ ।

नीता फिल्मस् को ब्यानरमा बन्ने फिल्ममा यसअघि नै चर्चित भारतीय कलाकार ब्रह्मानन्दम, खलपात्र सुनिल वर्मा (सिनुभाई), गजनी भिलेन प्रदीपराज रावत, साउथ कलाकार अली अनुबन्ध भइसक्दा नेपालबाट हरिहर अधिकारी, नीता ढुङ्गाना, रविन्द्र झा, विपना थापा, सरोज खनाल र सलोन बस्नेत अभिनयमा रहने निर्माण टिमले बताउँदै आएको छ । ‘लण्डन टू पेरीस’पछि गरिमाको करियरमा यो दोस्रो फिल्म हुनेछ ।

यो फिल्मको छायांकारमा बलिउड सिनेमाटोग्राफर कबीरलाल यसअघि नै अनुबन्ध भएका छन् । फिल्मको स्कृप्ट प्रतीक पौडेलले लेखेका छन् ।