बालबालिकासँग गायक आशिषले मनाए जन्मदिन

काठमाडौं । गायक आशिष सचिन गौतमले आफ्नो जन्म दिन अनाथ बालबालिकासँग मनाएका छन् । काठमाडौंको बुढानिलकण्ठ ५ डाँडा गाउँमा रहेको ‘अनाथ असाहाय बाल सुधार समाज’ मा पुगेर यी गायकले बिहिबार बेलुका आफ्नो जन्म दिन मनाएका हुन् ।

सो आश्रममा रहेका ३३ जना बालबालिकालाई खाना खुवाउँदै उनले जन्म दिन मनाए । नेपाली पप गीतमा सबै भन्दा बढी भ्युज भएको दारी फुल्यो बैंशमा चस्मा लाउँछौ पावर…गीतका गायकको जन्म दिनमा त्यहाँका बालबालिका निकै खुसी भए ।

जन्म दिन मनाउने क्रममा गायक आशिष सचिनले आफ्ना केही चर्चित गीतहरु त्यहाँ हरेका बालबालिकालाई सुनाए । उनका केही हिट गीत सुन्दै त्यहाँका बालबालिका उनीसँगै रमेका थिए ।

कार्यक्रममा आफ्नो जन्म दिनको केक काटेर गायक आशिष सचिनले त्यहाँका बालबालिकालाई खुवाए । उनीहरुलाई खाना खुवाउनका साथै केही आर्थिक सहयोग र खाद्यान्न सहयोग पनि प्रदान गरे । जन्म दिनमा हुने फजुल खर्च अनाथ बालबालिकाहरुको लागि उपयोग होस भनेर आफुले त्यहाँ पुगेर जन्म दिन मनाएको गायक आशिष सचिनले सो क्रममा बताए ।

२१ जना बालक र १२ बालिकाहरु रहेका सो आश्रममा यी गायकले आफ्नो जन्म दिन मनाएर केही क्षण भएपनि बालबालिकालाई खुसी तुल्याएका सँस्थाका कोषाध्यक्ष सदिप केसीले बताए । त्यहाँ रहेका बालबालिकाहरु नर्सरी देखि कलेजसम्म अध्ययन गरिरहेको उनले जानकारी गराए । ती बालबालिकाहरुको पालनपोषण र पठनपाठनमा सघाउन अन्य कलाकारलाई पनि त्यहाँ जन्मदिन मनाउनको लागि कोषाध्यक्ष केसीले सो क्रममा अपिल गरे ।