छायांकनमा द आउट ल

काठमाडौं । फिल्म ‘द आउट ल’को मुहर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पुजाआजा गर्दै क्यामेरा अन गरेको हो ।

फिल्मको आजै ललितपुर नजिकैको एक सेटबाट छायांकन प्रारम्भ भएको छ, अबको ४० दिनभित्र छायांकन सक्नेगरी ‘द आउट ल’को सुटिङ सुरु भएको हो । रेट्रो गु्रपको व्यानरमा निर्माण गर्न लागिएको यो फिल्मको अंगेजी नयाँबर्षको छेको पारेर फिल्म निर्माण गर्ने घोषणा गरेको थियो, सोहि दिन थिम टिजर र फस्टलुक पोस्टरसमेत सार्वजनिक गरिएको थियो ।

टिजर र फस्ट लुक पोस्टरबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले थप मिहेनतका साथ काम गर्ने अठोट लिएको निर्देशक बिक्की महर्जनले बताए । अभिनेता सुुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशालपहारीलगायतका कलाकारको मुख्य भुमिका रहने ‘द आउट ल’ पुर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुँदैछ । निर्माण टिमले आगामी बर्षको दशैं आसपासको समयमा प्रदर्शन गर्ने काम थालेको हो ।

फिल्मले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ । कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्दैछ । उनले एउटा राम्रो कथामा काम गर्न पाउँदा खुसी लागेको बताए । सशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् ।