अर्जुनले ल्याए आमाको ममता

काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘आमाको ममता’को भिडियो सार्वजनिक भएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्यूजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनीहरुसँग पनि विछोड भएपछि गर्नुपरेको संघर्ष देखाईएको छ । विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरब पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ ।

गायक ढकालले यस गीतले आफ्नो जीवनको केहि अंश प्रस्तुत गरेको बताए । आफ्नो संगीत क्षेत्रको संघर्षबारे बोल्दै उनले कहिले काहिँ जन्म दिने भन्दा कर्म दिने अभिभावक महत्वपूर्ण हुने बताए ।

निर्माता तथा गीतकार सुवेदीले बाल्यकालमा आफुले देखेको सत्य घटनालाई आधार मान्दै यो गीत तयार गरेको बताए । नक्षत्र फाउन्डेशनका सिईओ समेत रहेका सुवेदीले उक्त अवसरमा फाउन्डेशनबारे चर्चा गर्दै नेपालका दुरदराजमा रहेका बालबालिकाको सुन्दर भबिष्यको लागि फाउन्डेशनले विभिन्न कार्यहरु गर्दै आएको बताए । उनले यहि माघ २८ गते झापाको बेलडाँगीमा फाउन्डेशनको तर्फबाट आयोजना हुने बिशेष कार्यक्रमको बारेमा पनि चर्चा गरेका थिए ।

भिडियो निर्देशक विधान कार्कीले समाजमा देखिने घटनालाई लिएर म्युजिक भिडियो बनाएको बताए । उनले यो गीतमार्फत जन्म दिने मात्र नभई कर्म दिने अभिभावक पनि उत्तिकै महत्वपूर्ण हुन्छन भन्ने सन्देश दिन खोजेको बताए ।

भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादन विकास दाहाल हुन् । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दिपेन गौतम ‘माईकल’ले प्रडक्शन डिजाइन गरेका छन् भने हृतिका भट्टराई प्रोडक्शन कोअर्डिनेटर हुन् ।