सर्ट फिल्म आराध्या सार्वजनिक

काठमाडौं । भ्यालेनटाइन डे को अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । फिल्ममा सञ्चारकर्मी रामजी ज्ञवालीको निर्देशन छ । ज्ञवालीले यसअघि ‘हनिमुन’, ‘डार्क मुन’, ‘एक लभर’ लगायत झण्डै दर्जन सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

‘आराध्या’मा व्यस्त परिवार भित्र हुर्किरहेका बच्चाले बाबुआमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभावलाई देखाइएको छ । बाबुआमाले आफ्नो छोरीको जन्मदिन र विद्यालयको वार्षिकोत्सवमा समेत समय दिन नसकेपछि छोरीले आफैले आफैलाई जन्मदिनको शुभकामना दिएको दृश्यले धेरैको मन चसक्क पार्छ ।

अभिभावकहरु पेशा व्यवसायमा संलग्न भएको हरेक सहरीया परिवारको कथा सर्ट फिल्मले देखाएको र उनीहरुलाई सोच्न बाध्य पारेको निर्देशक ज्ञवालीले बताए । फिल्मको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन् ।

फिल्ममा अभिनेता आमिर गौतमले बुवाको र अभिनेत्री सुरविना कार्कीले आमाको भूमिकामा अभिनय गरेका छन् । बालकलाकार द्रोस्टी शाहले छोरीको भुमिका निभाएकी छिन् । त्यसैगरी सफु बुढाथोकी, नारायण कँडेल, प्रान्जल पौडेल, सृष्टि भुषाललगायतका कलाकारको अभिनय पनि सर्ट फिल्ममा देख्न सकिन्छ । यसअघि यो फिल्मको गीत ‘मिठी पापा’ र टिजर सार्वजनिक भएका थिए । पत्रकार जीवन भण्डारीले लेखेको गीतमा बालगायिका आरसी शाहको स्वर रहेको छ ।

फिल्ममा इन्जिनियर सन्जितकुमार शाहको लगानी, विशाल निरौलाको म्युजिक तथा एरेन्ज रहेको सर्ट फिल्म राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

फिल्मका प्रमुख सहायक निर्देशक बाबुराम निरौला हुन् भने युवराज घिमिरेले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा नहकुल खड्काको सम्पादन र संकल्प भुजेलको छायांकन, निशा खनालको मेकअप, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, योगेशकाजीको ब्याकग्राउण्ड म्युजिक रहेको छ ।