नयाँ भर्सनमा टिकुली ट्याक

काठमाडौं । गायक तथा सर्जक नविनकिशोर राईले २०२८ सालमा बनाएको ‘टिकुली ट्याक’बोलको गीत रमेश प्रसाईंको स्वरमा सार्वजनिक गरिएको छ । ५१ बर्षपछि पुनः रेकर्ड गरिएको गीतको गत सोमबार काठमाडौंमा भिडियो प्रिमियर गरियो । गीतमा राईकै शब्द र संगीत छ ।

भिडियो निर्देशन कलाकार दीपक आचार्य (काकु)ले गरेका छन् । गायक राईसँग अनुमति लिएर रमेश प्रसाईको स्वरमा पुनः रेकर्ड गरिएको निर्देशक आचार्यले बताए । आफ्नो जीवनकालमा सय बढी गीत गाएका राईको ‘टिकुली ट्याक’ पहिलो गीत हो । कार्यक्रममा राईले आफू अहिले ८० बर्ष पुगेको र ३० बर्षअघि नै गीत गाउन छाडेको जानकारी दिए । उनले स्वास्थ्यले साथ नदिएपछि गीत गाउन छाडेको तर गीत सिर्जना अहिले पनि गरिरहेको बताए ।

राईले आफ्नो स्वरमा ‘टिकुली ट्याक’ त्यो समयमा नै रत्न रेकर्डिङ संस्थानको माध्यमबाट रेडियो नेपालमा रेकर्ड भएको तर अहिलेको इन्टरनेटका कुनैपनि माध्यममा नराखिएकाले दर्शक तथा स्रोताले सुन्न नपाएको जानकारी दिए । उनले रमेश प्रसाईंले आफ्नो गीतलाई न्याय दिएको भन्दै धन्यवाद ब्यक्त गरे । गीतलाई विपिन आचार्यले एरेन्ज गरेका हुन् ।

भिडियोबाट हुने आम्दानीको केही प्रतिशत १४ अनाथ बालबालिका आश्रित अन्तर्दृष्टि नेपालका लागि जाने निर्देशक आचार्यले जानकारी गराए । उक्त संस्थालाई नन्दा सिंह र गीता बस्नेतले सन्चालन गर्दै आएका छन् । निर्देशक आचार्यले पुराना श्रृष्टाका गीत अहिलेको पुस्ताले सुन्नुपर्ने र त्यस्ता गीतबाट धेरै कुरा सिक्ने मौका मिल्ने बताए ।

कार्यक्रममा अन्तर्दृष्टि नेपालका लागी नेपाल सिलाई तथा कपडा ब्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्कीले ब्यक्तिगत रुपमा पाँच हजार रुपैंया सहयोग गरे । बागबजारमा सुटमाला सन्चालन गर्दै आएका कार्कीले निस्वार्थ भावनाले सहयोग गरेको जानकारी गराए । यस्तै गायक राईले आफ्नो ब्यक्तिगत तर्फबाट भन्दै पाँचहजार एकसय, यस्तै प्रोडक्सन कम्पनीको तर्फबाट दशहजार र गायक राईको बहिनीद्धय एसोधा राई र रिना राईको तर्फबाट चारहजार दुईसय नगद रकम हस्तान्तरण गरियो ।

भिडियोमा कलाकार हरिश निरौला, प्रियना आचार्य, पुस्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माको अभिनय रहेको छ । सुबोल थापाको कोरियोग्राफि रहेको भिडियो पवन सुस्लििङले खिचेका हुन् । यस गीतको निर्माताको रुपमा सुस्मा गुरागाईँ रहेकी छिन् । भिडियो निर्देशनको पाटो दीपक आचार्यले सम्हालेका छन् । भिडियो संखुवासभा, तेह्रथुम र धनकुटामा छायांकन गरिएको हो ।