द लर्डसलाई वर्ल्ड अफ डान्स नेपालको उपाधि

काठमाडौं । विश्वकै सबैभन्दा ठुलो डान्स प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ को रिजनल च्याम्पियनसिप ‘वर्ल्ड अफ डान्स नेपाल’ को च्याम्पियनसिप सिरिज नेपालमा सम्पन्न भएको छ। म्युजिक सिटि, बालकुमारीमा भएको च्याम्पियनसिप अपर डिभिजन र टिम डिभिजन क्याटेगोरीले मात्र प्रतिस्पर्धा गरेका थिए।

वर्ल्ड अफ डान्स नेपालका लागि जजिंग प्यानलमा सेलेब्रिटि जज सबिन कार्की, बि–बोइङ्ग डान्सर निशान्त गौचन र फ्रेन्च डान्सर एलिजे बियानिक थिए।

टिम डिभिजनमा सबैभन्दा उत्कृष्ट टिमको उपाधि ‘द लर्ड्स’ ले प्राप्त गरेको छ भने दोस्रो स्थानमा ग्रुवी सोल क्रु र तेस्रो स्थानमा फ्युचर क्रु ले आफ्नो स्थान सुरक्षित गरेको छ।

द लर्ड्सले पन्ध्र सय डलर उपाधि रकम पनि हात पार्यो। यी तिनै टिम डिभिजनका उत्कृष्ट टिम यहि आउने अगस्ट ११ देखि १४ सम्म ‘द एनाहीम कन्भेन्सन सेन्टर’ क्यालिफर्नियामा सहभागी हुनेछन।

अपर डिभिजनमा सबैभन्दा उत्कृष्टको उपाधि डान्सर अनिस सिंहले हात पारेका थिए भने दोस्रो स्थानमा किशोर हमाल ठकुरी र तेस्रो स्थानमा मुकेश ढकालले हात पारे।

जज निशान्त गौचन र सबिन कार्कीले सोलो प्रतिस्पर्धी हरुलाई अझै मिहेनत गर्न सुझाब दिएका छन्। उनीहरुले विशेष गरि सोलो प्रतिस्पर्धी हरुले धेरै कुरा ध्यानमा राख्नपर्ने संदेश दिए। टिम डिभिजनका विजेताहरुलाई पनि जजहरुले आगामी पांच महिना निकै मिहेनत गरेर विश्व सामु नेपाली नाम र संस्कृती झल्काउने गरि प्रदर्शन र प्रतिस्पर्धा गर्न अनुरोध गरेका थिए। कार्यक्रमको अन्त्यमा जज एलिजे बियानिकले महिला प्रतिस्पर्धीहरुको सहभागिता नभएको देखेर मन खिन्न भएको बताएकी छिन ।