मीराः स्याडो अफ अ रेन्बोको मुहुर्त

काठमाडौं । फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सोमबार काठमाडौँको मैतिदेवि मन्दिरमा मुहुर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बन्न लागेको यो फिल्ममा अनिता पण्डितको लेखन तथा निर्देशन रहनेछ ।

फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको प्रमूख अभिनय रहनेछ । आश्वि फिल्मसले निर्माण गर्ने फिल्मका लाइन प्रोड्युसर शंकर कार्की हुन् ।

पेशाले आईटी इन्जिनियर अनिताले आफ्नो फिल्मप्रतिको प्रबल इच्छालाई मुर्तरुप दिने क्रममा यो फिल्म निर्देशन गर्न लागेको बताईन् । अभिनेत्री सुरविना कार्कीले आफुलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकोले यसमा अभिनय गर्न लागेको बताईन् ।

अभिनेता निशान चौहानले यसको कथाले समाजमा नयाँ सन्देश दिने बताए । अर्का अभिनेता कैलाश रावलले एक महिलाले आफ्नो जीवनकालमा भोग्नुपर्ने हरेक किसिमका उतार चढावका कथाहरु मर्मस्पर्श रहेको र त्यसमै आधारित यो चलचित्र आफ्नो लागि चुनौति र अवसर दुवै रहेको बताए ।

यो फिल्मको छायांकन यसैसाता शुरु हुनेछ । शिवपुरी, पाटन, रानीबन लगायतका स्थानहरुमा यसको छायांकन हुनेछ । फिल्ममा एलिश कार्कीको संगीत रहनेछ । डिओपी अनिल कटुवाल हुन् भने प्रकाश महरा टेक्निकल हेड हुन् । प्रकाश हमालले प्रोडक्शन डिजाईन गरेका छन् ।