४१ वर्षपछि डिस्को डान्सरको रिमेक

मुम्बई(एजेन्सी) । अभिनेता मिथुन चक्रवर्तीको आधिकारिक जीवनी ‘द दादा अफ बलिउड’मा उनको फिल्म ‘डिस्को डान्सर’ सय करोड रुपैंयाँ कमाउने पहिलो बलिउड फिल्म हो भनी दाबी गरिएको छ । तर भारतीय बक्सअफिसमा यो रेकर्ड भने अभिनेता आमिर खानको फिल्म ‘गजनी’को नाममा छ । दाबी आ–आफ्नै भए पनि मिथुनका फ्यानका लागि एउटा खुशीको खबर छ ।

मिथुनको ‘डिस्को डान्सर’ रिलिजको ४० वर्ष पुरा भएको छ । सन् १९८२ मा निर्माण भएको यो फिल्मको ४१ वर्षपछि सिक्वेल निर्माण हुँदैछ । फिल्मका निर्माता तथा निर्देशक बी सुभाष निर्माता नितिनकुमार गुप्तासँग सहकार्य गर्दै सिक्वेलको तयारीमा जुटिसकेका छन् ।

फिल्मको नाम हाललाई ‘डिस्को डान्सर २’ राखिएको छ । ‘डिस्को डान्सर’ एक सांगीतिक कथाको फिल्म थियो, जुन जिमी(मिथुन चक्रवर्ती) नामका एक स्ट्रीट सिंगरको जीवन वरपर घुमेको थियो । जो पछि गएर डिस्को स्टार बन्छन् । यो फिल्मले भारतमा मात्र होइन, चिनियाँ र रुससहित कैयौं युरोपियन मुलुकमा तहल्का मच्चाएको थियो ।

यो फिल्ममा दिवंगत संगीतकार तथा गायक बप्पी लहरीको संगीत थियो । फिल्मका गीत ‘जिमी जिम्मी आजा आजा’, ‘आइ एम अ डिस्को डान्सर’ र ‘याद आ रहा है’ आज पनि लोकप्रिय छ ।

फिल्मको सिक्वेल अघिल्लो फिल्मको अन्त्यबाटै सुरु हुनेछ । यो सिक्वेलले जिमी र उनको छोराको कथालाई अगाडि ल्याउनेछ । फिल्मलाई रुससहित अन्तर्राष्ट्रिय लोकेसनमा खिचिनेछ । फिल्ममा मिथुनको अभिनय रहनेछ तर उनको छोराको भूमिका कसले निभाउने केही टुंगो लागेको छैन । फिल्मको कथा ‘आरआरआर’, ‘बाहुबली’ र ‘बजरंगी भाईजान’ जस्ता ब्लकबस्टर फिल्मका लेखक केवी विजयेन्द्र प्रसादलाई लेखाउने तयारीमा निर्माता छन् ।