काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’को बिहीबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरियो । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ हेर्न हल पुगेका थिए । फिल्म हेरेर हलबाट निस्कँदै गर्दा सबैले फिल्म उत्कृष्ट मौलिक नेपाली फिल्म बनेको भन्दै प्रशंसा गरेका थिए ।
शुक्रबारबा प्रदर्शनमा आएको फिल्मको प्रिमियर हेर्न निर्देशक निश्चल बस्नेत, निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, निर्माता सरोज न्यौपाने, लेखक प्रदीप भारद्धाज, अभिनेता अरुण क्षेत्री, राजन खतिवडा, अनुप बराल, अभिनेत्री ऋचा शर्मा, सिर्जना लिम्बु, वर्षा सिवाकोटी, बेनिशा हमाल, अञ्जना बराईली, कवि नवराज वाग्ले, विप्लप प्रतिकलगायत हल पुगेका थिए ।
फिल्मले प्रिमियर शोमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएपछि डेव्यु निर्देशक उपेन्द्र सुब्बा, अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, परिक्षा लिम्बु हर्षित देखिन्थे । फिल्म छायांकनको करिब ३ बर्ष ५ महिनापछि रिलिज हुँदा निकै खुशी लागेको अभिनेता राईले बताए ।
यस्तै, अभिनेत्री मिरुना मगरले आफुले कबड्डी ४ भन्दा पहिले अभिनय गरेको फिल्म जारी भएकाले पनि आफ्नो लागि यो फिल्म बिशेष रहेको बताइन् । निर्देशक सुब्बाले फिल्म लेख्न भन्दा निर्देशन गर्न निकै गाह्रो रहेको अनुभव सेयर गर्दै केही दिन यता जारी के होला ? दर्शकलाई मन पर्लाकी नपर्ला ? भन्ने पिरले सुत्न नसकेको बताए ।
जारी प्रथामा आधारित रहेको फिल्ममा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्ट, झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता निर्देशक रामबाबु गुरुङ हुन् ।
बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको फिल्ममा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह–निर्माता छन् ।