दर्शक भेट्दै धिरज र जसिता

काठमाडौं । वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’का मुख्य नायक धिरज मगर र नायिका जसिता गुरुङले मोफसलका दर्शकसँग साक्षात्कार गर्ने भएका छन् । यसका लागि उनीहरु बिहिबार बुटवलतर्फ प्रस्थान गर्दैछन् ।

वुटवलका दर्शकसँग उनीहरुले शुक्रबार भेटघाट गर्ने निर्माणपक्षले बताएको छ । निर्देशक रेनशा वान्तवा राइले भनिन्–‘फिल्म चल्नु अगाडि नै हामी दर्शकहरुसँग भेटघाट गर्न आतुर छौं । दर्शकले हाम्रो फिल्मलाई लिएर कस्तो विचार व्यक्त गर्नुहोला भन्ने कुराले म आफै पनि उत्साहित छु ।’

बुटवलका विभिन्न कलेज, सिनेमा भवनमा धिरज र जसिताले दर्शकसँग कुराकानी गर्नेछन् । यस्तै, वैशाखको ९ गते शनिबार उनीहरुले नेपालगञ्जका दर्शकसँग साक्षात्कार गर्नेछन् । यसका लागि नेपालगञ्जमा रहेको क्यूएफएक्स, बागेश्वरीमा धिरज र जसिता पुग्नेछन् ।

धिरज र जसिताले बुटवल र नेपालगञ्जका दर्शकलाई शुक्रबार र शनिबार भेट्नका लागि आग्रह गरेका छन् । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा छुट्टै खालको उत्साह छ । डान्सको कथामा तयार भएको फिल्ममा धिरजलाई २ अवतारमा देख्न सकिन्छ । यस्तै, जसिताले भने फिल्ममा आफ्नो सपना पुरा गर्नका लागि मिहिनेत गर्ने एक यूवतीको भूमिकामा अभिनय गरेकी छिन् ।

आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ ।