मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२३ मा २४ प्रतियोगी

काठमाडौं । नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल’को २०२३ संस्करणका लागि १२ युवा र १२ युवती गरी २४ प्रतियोगी छानिएका छन् । पोखरा, धनगढी, इटहरी, काठमाडौं लगायत देशको बिभिन्न स्थानमा भएको प्रारम्भिक अडिसनमा सहभागी २ सय बढी सहभागीबाट ४० प्रतियोगी छानिएका थिए । तीमध्येबाट फाइनलका लागि २४ प्रतियोगी छानिएका हुन् ।

छानिएकामा विदेश बस्ने, एनआरएन, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीतामा सहभागी भएका र विभिन्न सौन्दर्य प्रतियोगीता विजेता समेत छन् ।

१८ वर्षदेखि ३२ वर्षसम्मका युवती र १९ देखि ३४ वर्षसम्मका युवाको सहभागिता रहेको अडिसनको छनोट चरणमा डा. सन्तोष उपाध्याय, प्रशान्त ताम्राकार, प्रिया सिग्देल, सनिसा श्रेष्ठ, डा.केशु खड्का, पुष्कर ओझा, डा. प्रमोद जोशी, सुनिल थपलिया, उज्वल जोशी लगायत निर्णायक थिए ।

सुनर्वी इन्टरनेसनलको आयोजना रहेको प्रतियोगितामा ट्यालेन्ट, स्वीमर, टप मोडल, फिटनेश, सोसल कोर्ष, सास सेरोमनीलगायतका राउण्डसमेत आयोजना हुनेछ ।

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगीतामा अन्तराष्ट्रिय गेष्टहरुको पनि सहभागी रहनेछ । गत बर्षको प्रतियोगीतामा ‘मिस्टर सुपरनेसनल २०२१’ भरो भार्गाेस, ‘मिस सुपरनेसनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आएका थिए ।

फाइनल प्रतिस्पर्धीले २५ दिनको विभिन्न ट्रेनिङसमेत लिनेछन् । जसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकास लगायत बिभिन्न प्रशिक्षण प्रदान गरिनेछ । प्रतियोगीतामा २ पुरुष र २ महिला गरेर ४ विजेता छानिनेछ । जसमध्ये पुरुष विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर सुप्रन्यासनल र मिष्टर इन्टरनेशनलमा सहभागी हुन पाउनेछन् । महिला विजेताले मिस सुप्रन्यासनल र मि ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

सुनर्वी इन्टरनेसनलका सन्तोष उपाध्यायले युवायुवतीको प्रतिभा निखार्दै उज्जवल भविष्य निर्माणमा सहयोग पु¥याउने उदेस्यले प्रतियोगिता गरिएको बताए । प्रतियोगीताको अन्तिमस्पर्धा १५ मेमा हुनेछ ।