साइकल सररमा राहुल र बिनाको रोमान्स

काठमाडौं । गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत ‘साइकल सरर’को भिडियो बुधबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकाश बोर्डका सदस्यद्धय राजु केसी, रबी अधिकारी, अभिनेता गजित बिष्ट, यो गीतको भिडियोका अभिनेता राहुल केसी, अभिनेत्री विना राउतले यो गीतको एल्बमलाई बिमोचन गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बिमोचन समारोहमा बोल्दै नेपालमा बस्दा थुप्रै चलचित्रमा अभिनेताको रुपमा काम गरेर अमेरिका पुगेका अभिनेता राहुल केसीले त्यही रहेर नेपाली चलचित्र तथा गीत संगीतमा योगदान दिँदै आएको बताए,‘अनु र उमेशको स्वरमा रहेको साइकल सरर गीत जति मिठो छ । यो गीतमा राहुल र विनाको अभिनय पनि त्यत्तिकै राम्रो देखिएको छ ।’

गीतमा गायनसँगै लेखन र संगीत पनि उमेश मुस्कानकै छ । यो गीतका निर्माता तथा चलचित्र विकाश बोर्डका सदस्य राजु केसीले कार्यक्रममा भने,‘गीत एक पटक सुन्ने वित्तिकै मन परेर गीतको भाव अनुसारको भिडियो हामीले चितवनका विभिन्न पर्यटकीय स्थलमा छायाँकन गरेर बनाएका हौं । यो गीतको भिडियो सबैलाई मन पर्नेमा हामी विश्वस्त छौं ।’

यस्तै भिडियोबारे अभिनेता राहुल केसीले भने,‘एक दशकदेखि अमेरिकामा रहेर पनि मैले त्यहाँ म्युजिक भिडियो तथा सर्ट फिल्ममा अभिनय गरिरहेको छु । नेपाल आएको बेला गत साता खड्क गर्जुभा दाईको लाहुरे र यतिबेला अर्को गीत साईकल सररमा अभिनय गर्न पाउँदा खुसी लागेको छ ।’

अभिनेत्री विना राउतले बिगतमा आफुले राहुलका विभिन्न फिल्म हेरेको र अहिले राहुलसँगै अभिनय गर्न पाउँदा खुसी लागेको बताईन् ।

समारोहमा यो गीतका गायक उमेश मुस्कानले गीत सृजना गर्दाको अनुभव सुनाए । यस्तै बोर्ड सदस्य रवि अधिकारी, अभिनेता गजित बिष्टले पनि गीत र भिडियोको प्रसँसा गरे । सौराहा लगायत विभिन्न सुन्दर स्थानमा छायाँकन गरिएको यो भिडियोमा अभिनेता राहुल र अभिनेत्री विनाको जोडी निकै सुहाएको छ । उनीहरु प्रेमिल जोडीको रुपमा भिडियोमा उत्रिएका छन् । यी दुईको रोमान्स आकर्षक छ ।

भिडियोको निर्मातामा रक्षा बानियाँ केसी, आकाश केसी र कार्यकारी निर्माता राजु केसी रहेका छन् । यो गीतको भिडियोलाई बुधबार नै केसिएम डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतको भिडियोमा प्रमोद के भण्डारीको निर्देशन, देव दोर्जे लामाको छायाँकन, नविन निरौलाको सम्पादन, मोहन सुनुवारको निर्माण नियन्त्रण रहेको छ ।