टुल्की ट्रेलरमा बहुपति तनाव

काठमाडौँ । बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने फिल्मको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य पात्र सबैलाई समाबेश गरिएको छ । सार्वजनिक ट्रेलरमा एउटा केटीको लागि धेरैजना दाजु भाईले नै बिवाह गर्दा आइ पर्ने झमेलालाई देखाउन खोजिएको छ।

द पाल्म गुप्र को ब्यानरमा निर्माण गरिएको फिल्मले सामाजिक यथार्थ कथा बोल्ने फिल्मका निर्माता शेखर लामाले जानकारी दिए । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो । फिल्म निर्देशन देव थापा, छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् ।

बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । फिल्ममा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।

उक्त फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ।