काठमाडौं । फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय फिल्म हो ।
‘हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझै भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा फिल्म ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ’, निर्देशक पाण्डेले भने । उनले हिन्दी भाषामार्फत बढी दर्शकसम्म पुग्ने विश्वास व्यक्त गरे ।
फिल्मका लेखक दीपेन्द्र के खनालले यो विषय समाजसँग जोडिएको बताए । ‘यो हामीले देखिरहेको र सुनिरहेको कथा हो । यसले हाम्रो कमजोरी औँल्याउनसमेत मद्दत गर्छ,’ उनले भने ।
फिल्मकी अभिनेत्री शिल्पा मास्केले आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको जानकारी दिइन् । ‘बनिरहेका फिल्मभन्दा फरक छ । यसको कथा सुन्दा नै मलाई राम्रो लागेको हो’, उनले भनिन्, ‘पोस्टर सार्वजनिक हुँदा पाएको चर्चाले ‘नर्भस’ पनि थिएँ । यद्यपि ट्रेलर हेर्दा ढुक्क भएकी छु ।’
अभिनेता कोसिस क्षेत्रीले पनि समाजमा भएको तर दबाइएको कथा फिल्ममा समेटिएको जानकारी दिए । ‘यो कथाले सम्भावित घटनालाई देखाउँछ, बुझाउँछ । यसमा काम गर्दा निकै सहज र सरल भयो । फरक गर्ने मेरो प्रयासलाई यसका निर्माता तथा निर्देशकले सहजीकरण गरिदिनुभयो’, अभिनेता क्षेत्रीले भने । अर्का अभिनेता गौरभ विष्टले प्रेमी युवाको भूमिका निर्वाह गरेको जानकारी दिए ।
आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने फिल्म नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन हुँदैछ । नेपालमा हिन्दी भाषामा प्रदर्शन गर्ने वा नगर्ने विषय तय नभएको वितरक करण श्रेष्ठले जानकारी दिए । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।